कोराना भाइरस र जन मानसमा तितेपातीको मोह

0
0

बीबीसी\ काठ्मान्डौ,२८ भदौ। गत अप्रिलमा पूर्वी अफ्रिकी मुलुक, मदागस्करले कोरोना भाइरसविरुद्ध एक चमत्कारी बिरुवाको प्रयोग गरिरहेको घोषणापछि पूरै विश्वको ध्यानाकर्षण गराएको थियो । ‘आर्टिमिसिया’ अर्थात् तितेपाती कोभिडविरुद्ध प्रभावकारी हुन्छ भनेर देशका राष्ट्रपति एन्ड्री राजोएलेना आफैँले अधिक प्रचार गरिरहेका छन् ।

तर विश्व स्वास्थ्य संगठन, डब्लूएचओले भने हालसम्म सो बिरुवाले कोरोनाका बिरामीलाई कुनै पनि फाइदा पुग्ने सम्बन्धी केही प्रमाण नभएको बताउँदै आएको छ ।

तितोपातीको उत्पत्ति एसियाली क्षेत्रबाट भएको हो जुन अहिले दुनियाभरि नै पाइन्छ । २ हजार वर्षदेखि यो बिरुवा चिनियाँ परम्परागत औषधिका रुपमा प्रयोग हुँदै आएको छ । यसले मलेरियासहित अन्य थुप्रै रोग ठीक गर्न सक्ने बताइन्छ । दुखाइ कम गर्नेदेखि ज्वरोको उपचारमा पनि यसको प्रयोग हुने गरेको छ । चीनमा यसको औषधिलाई ‘किनगाओ’ भनिन्छ भने कतिपय मदिरायुक्त पेय पदार्थमा पनि यसलाई मिसाइने गरिएको छ ।

के तितेपातीले वास्तवमै कोरोनाविरुद्ध काम गर्छ त ?

मदागस्करका राष्ट्रपति रजोलिनाले गत अप्रिलमै यससम्बन्धी ट्रायल सञ्चालन भइरहेको र कोभिड विरुद्ध यो अर्गानिक पेय पदार्थ प्रभावकारी भएको दाबी गरेका थिए । सो पेय पदार्थमा तितेपातीको प्रयोग गरिएका सम्बन्धी उनले सेप्टेम्बरमा पनि अधिक प्रचार गरेका हुन् । तर अहिलेसम्म यसले वास्तवमै काम गर्छ भनेर कतै कहिँ पनि वैज्ञानिक रुपमा पुष्टि गरेर देखाइएको छैन ।

त्यस्तै सो पेय पदार्थमा तितेपातीबाहेक अरु केके प्रयोग गरिएको छ भन्ने पनि थाहा दिइएको छैन तर सरकारले यसलाई ६० प्रतिशत तितेपाती बिरुवाबाट निस्कासन गरिएको बताउँदै आएको छ । यति मात्र नभइ मदागस्करले यसका क्याप्सुल र सुइ लगाउन ‘सल्युसन’ को उत्पादन पनि थालेको हो जसको क्लिनिकल ट्रायल सुरु भइसकेको छ ।

जर्मन र डेनमार्कका वैज्ञानिकहरुले यसअघि तितेपाती बिरुवा सम्बन्धी रिसर्च गर्दा त्यसले ल्याबभित्र नयाँ कोरोना भाइरसविरुद्ध केही प्रभावकारीता देखाएको बताएका हुन् ।

तर सो अनुसन्धान अरु वैज्ञानिकहरुले स्वतन्त्र रुपमा विश्लेषण गरेका छैनन् । ल्याबमा गरिएको यस अध्ययनमा तितेपातीलाई इथानोल वा ‘डिस्टिल्ड वाटर’ अर्थात वैज्ञानिक शुद्धीकरण गरिएको पानीसँग मिसाउँदा यसले एन्टि–भाइरल गतिविधि देखाएको उनीहरुको भनाइ थियो ।
अहिले युनिभर्सिटी अफ केन्टुकीसँग सहकार्य गर्दै वैज्ञानिकहरुले यसको मानव परीक्षण गराउने सम्बन्धी काम गरिरहेका छन् ।

उता चीनले पनि परम्परागत औषधिमा आधारित रहेर यो बिरुवा सम्बन्धी आफ्नो छुट्टै रिसर्च गरिरहेको छ ।

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले तितोपातीसहित विभिन्न किसिमका बिरुवाहरु कोरोना विरुद्ध प्रभावकारी हुने सम्बन्धी ल्याब परीक्षण गरिरहेका छन् तर आजसम्म यी रिसर्चहरुबाट कुनै नतिजा प्राप्त भएको खबर गरिएको छैन ।

तितेपातीका बारेमा डब्लूएचओले के भन्छ ?

डब्लूएचओले अहिलेसम्म मदागस्करमा भएका परीक्षण सम्बन्धी विस्तृतमा जानकारी दिइसकेको छैन । अफ्रिकी क्षेत्रका डब्लूएचओ प्रमुखले बीबीसीसँग बताए अनुसार संगठनले प्रारम्भिक ट्रायलको नतिजा हेरेर पछि परीक्षणका समयमा मात्र यसमा संलग्नता जनाउन सक्छ । अहिलेका लागि भने डब्लूएचओले तितेपातीले कोरोना विरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण नभएको बताएको छ ।

तरपनि कोभिड सम्बन्धी क्लिनिकल ट्रायलहरुमा सबै जडिबुटीयुक्त बोट बिरुवाहरुको प्रभावकारीता परीक्षण गराउनुपर्ने डब्लुएचओको भनाइ छ ।

मलेरियाविरुद्ध यो कसरी प्रयोग हुन्छ ?

सुकेको तितेपातीमा पाइने सक्रिय तत्वलाई ‘आर्टेमिसिनिन’ पनि भनिन्छ जसले मलेरिया विरुद्ध काम गर्छ । १९७० मा मलेरिया विरुद्धको औषधि सम्बन्धी खोज गर्दा चिनियाँ वैज्ञानिकहरुले पहिलोपटक यसको गुण पत्ता लगाएका थिए । यसरी आर्टेमिसिननमा आधारित थेरापीहरुलाई ‘एसीटीज’ पनि भनिन्छ जुन डब्लूएचओले समेत मलेरिया विरुद्धको उपचारमा प्रयोग गर्न सुझाव दिने गरेको छ ।

मलेरियाको उपचारमा मुख्यगरी प्रयोग हुने क्लोरोकिन औषधिले काम नगरेको अवस्थामा यो वास्तवमै ठूलो राहत हुने बताइएको छ । एसीटिजमा तितेपातीसहित अन्य तत्वहरु मिसाइएको हुन्छ जसले शरीर भित्रका मलेरिया प्यारसाइटको सङ्ख्या घटाइदिन्छ । विगत १५ वर्ष मलेरियाको नियन्त्रणमा एसिटीजको प्रमुख भूमिका रहँदै आएको छ ।

तर यसलाई आवश्यक भन्दा बढी उपभोग गर्नुले भने शरीरलाई औषधि प्रतिरोधक बनाइदिने सम्बन्धी डब्लुएचओले चेतावनी दिँदै आएको छ । कतिपय दक्षिण पूर्वी एसियाली देशहरुमा मलेरियाले यसलाई प्रतिरोध गर्न थालेका अवस्थाहरु फेला परिसकेको छ । बीबीसीबाट

Leave a Reply