सरकारले ल्यायो अध्यादेशःतेजाब छ्याप्दा २९ वर्ष सम्म जेल

0
5

काठमाडौं,१३ असोज । सरकारले तेजाबसम्बन्धी अपराध नियन्त्रण गर्न अध्यादेशमार्फत् कडा कानुन जारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरी मन्त्रीहरूलाई सुझाव दिन आग्रह गरेको थियो । मन्त्रीहरूको सुझाव समावेश गरिएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेकी हुन् ।

नयाँ कानुनअनुसार तेजाब छ्याप्दा अनुहार, दुवै आँखा, कान, नाक, वक्षस्थल, यौनाङ्गलगायत संवेदनशील अङ्गमा गम्भीर क्षति भएमा कसुरदारले २० वर्ष जेल सजाय बेहोर्नुपर्ने छ । र, दसलाख रुपैयाँ जरिबाना बेहोर्नुपर्नेछ ।

कथम् पीडितको तत्कालै र एकवर्षभित्र मृत्यु हुन पुगे कर्तव्य ज्यानसम्बन्धी महलसमेत आकर्षित भई कुल २९ वर्ष जेल सजायँ बस्नुपर्ने गरी कानुन जारी गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

तेजाब छ्याप्दा पीडितको एउटा आँखा, एउटा कान, अनुहारमा आंशिकरूपमा क्षति भएका, एउटा स्तनमा क्षति पुगेमा, दुवै हात, दुवै गोडा, मेरुदण्डमा क्षति पुगेका, जलेमा १५ देखि २० वर्ष जेल सजाय र सातदेखि १० लाख जरिबाना तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पनि जारी गरेकी छिन् ।
नयाँ जारी गरिएको कानुनअनुसार तेजाबलगायत अन्य घातक रासायनिक पर्दाथ अनुमति लिएर र १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई मात्र बिक्री वितरण गर्न पाइनेछ । क्रेताको अभिलेख पनि राख्नुपर्ने छ ।

ऐन विपरीत, अनुमति नलिई बिक्री गरेमा पचास हजारदेखि एकलाख रुपैयाँसम्म जरिबाना र तीन महिनादेखि एकवर्षसम्म कैद सजाय निर्धारण गरिएको छ ।

Leave a Reply