कोरोना सङ्क्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च

6

काठमाडौँ,२८ कात्तिक । पछिल्लो चार महिनामा मात्र कोरोना सङ्क्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निणर्य गरेको पनि उहाँले बताउनुभयो ।

नेपालमा कोरोना भाइरस कोभिड(१९ सङ्क्रमितको संख्या भने २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो ।

उनीहरूमध्ये १ हजार १ सय ७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ६६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८ हजार ९ सय १२ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २६ जनाको मत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको ११ सय ७४ पुगेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्