डाइभर्सन नबनाइदा यात्रुको बिचल्लि

 

पूर्वी नवलपरासी,१७ भदौ ।महेन्द्र राजमार्गअन्तर्गतको गैंडाकोटको थुम्सीमा गत बिहीबार बगेको डाइभर्सन नबनाइँदा यात्रुको बिचल्ली देख्न सकिन्छ । गाडी पार गराउन नसकिएकै कारण राजमार्गमा २० किलोमिटर लामो जाम रहेको छ ।

खास गरी ठूला गाडीमा चढेका लामो रुटका यात्रुहरू मुस्किलमा परेका छन् । पाँचौं दिन आइपुग्दा गैंडाकोटदेखि पश्चिम रजहरको फारम बजारसम्म गाडीको लाम छ । बैतडीबाट काठमाडौं हिँडेका धीरज मुडभरी बच्चासहित जाममा फसेका छन् । गाडी पार हुन नसक्दा ४ दिनदेखि हर्कपुरमै अड्किएको उनले बताए । बालबच्चासहित आएकाले हिँडेर जान नसक्ने उनीजस्ता थुप्रै यात्रु गाडीमै बस्न बाध्य छन् ।

अस्थायी डाइभर्सन बनाइए पनि हिलोका कारण गाडी फसेको फस्यै गर्छन् । पार भइहाले पनि एउटा गाडीलाई त्यहाँबाट उम्कन २० मिनेटभन्दा बढी लाग्ने गरेको छ । देशकै लाइफलाइन मानिने सडकको २३ स्मृति पुलको डाइभर्सन नबन्दा हजारौं यात्रुको बिचल्ली छ । महेन्द्र राजमार्ग फराकिलो बनाउने जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले वर्षालाई कारण देखाउँदै डाइभर्सन निर्माणमा ढिलाइ गरिरहेको छ ।

सकेसम्म छिटो उम्कने होडबाजीले गर्दा गाडीका तीनवटासम्म लाइन छन् । नजिकै घर रहेका यात्रुहरू करिब तीन किलोमिटर जंगल क्षेत्र हिँडेर पार गरेका छन् । तर बाटो हिलाम्मे भएकाले हिँड्न पनि सकस छ । हिँडेर आउने यात्रुलाई साना टेम्पुले थुम्सीबाट नारायणगढ र थुम्सीबाट पश्चिम भेडाबारीसम्म ओसारिरहेका छन् । ठूला गाडी पार नहुने देखेरै झोला र सामान नभएका यात्रुहरू हिँड्न थालेका हुन् ।

महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगाएपछि ह्युमपाइप राखेर ग्राभेलले पुरी अस्थायी व्यवस्था गरिएको छ । तर वर्षा हुनासाथ ग्राभेल बगेर गाडी फस्ने गरेको छ । सोमबार पनि बिहानैदेखि पानी परेपछि हिलो अझ थपिएको थियो । नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दृष्टि अस्थायी डाइभर्सनलाई पक्की बनाउन नमिल्ने भएकाले वर्षा नरोकिएसम्म यस्तै समस्या रहिरहने भन्दै पन्छिने गर्छन् । ‘पानी पर्नासाथ बग्छ, संसारमै यस्तै हो,’ उनी भन्छन्, ‘पानी नरोकिएसम्म चाँडो गर्ने अरू कुनै उपाय छैन ।’

जिल्ला प्रहरीका सूचना अधिकृत दिलीप गिरीले थुम्सीदेखि पश्चिमतर्फ हजारभन्दा बढी गाडी रोकिएको र पूर्वतर्फ पनि त्यति नै गाडी जाममा परेको जानकारी दिए । यात्रुवाहक र साना गाडीलाई प्राथमिकतामा राखेर वारपार गराउने कोसिस गरिएको उनको दाबी छ । ‘लोड गाडी जान दिएका छैनौं,’ गिरीले भने, ‘गाडी डाइभर्सनमा पुग्दा हिलोमा फस्ने र डोजर लगाएर तान्ने गरिएको छ ।’

चिनियाँ ठेकेदारले समयमै काम सम्पन्न गर्न नसके पनि ठेक्का रद्द गरेर अरू कम्पनीलाई दिन सजिलो नरहेको सडक योजनाप्रमुख दृष्टिको भनाइ छ । ‘नयाँ ठेक्का लगाउने प्रक्रिया निकै लामो र झन्झटिलो छ,’ उनले भने, ‘४२ महिनामा काम सम्पन्न गर्नुपर्नेमा आजसम्म ४ प्रतिशत मात्र भएको छ ।’ चिनियाँ ठेकेदारले काम सम्पन्न गर्नुपर्ने म्याद आउँदो वैशाखमा सकिँदै छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्