बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाण्डौ,३ कात्तिक । सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोमा एक जना गुमाएका परिवारलाई दुई लाख र एक जनाभन्दा धेरै गुमाउनेलाई प्रति मृतक थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । मृतकको काजकिरियामा समस्या नहोस् र गाँस–बासको जोहो गर्न सहज होस् भनेर राहतको घोषणा गरिएको गृह मन्त्री बालकृष्ण खाणले जानकारी दिए ।

यस्तै बाढी, पहिरोमा परि घाइते भएकाहरूको निशुल्क उपचार गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारले बाढी, पहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने र बन्द रहेका सडक, विद्युत् र सञ्चारलाई सुरु गर्न उपकरण र जनशक्ति परिचालन गर्ने निर्णय गरेको पनि मन्त्री खाणले जानकारी दिए ।

यसैबीच सरकारले बाढी, पहिरोमा जमिन र घर गुमाएकालाई पनि राहत दिने भएको छ । गृह मन्त्री खाणका अनुसार पहिरोले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिनेछ ।

यस्तै निजी आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा तीन लाख, पहाडमा चार लाख र तराईमा पाँच लाख रुपैयाँ दिने सरकारी मापदण्डअनुसारको रकम दिइने र जग्गा खरिद गर्न तीन लाख रुपैयाँ दिने निर्णय समेत सरकारले गरेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्