काठमाडौं,८ भदौ । उपत्यका नगरपालिका मेयर फोरमकाे बैठकले निषेधाज्ञाको स्थितिलाई भदौ १५ गतेसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौं १५ गतेसम्म निरन्तरता दिने र निषेधाज्ञा भदाै १५ गतेसम्म कायम गर्न जिल्ला प्रशासनकार्यालयलाई सुझाव दिने निर्णय गरेको हो ।
यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको बताउनुभयो । यसबाहेक कोभिड-१९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो । अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसहरुको एकपटक परीक्षण गर्ने निर्णय गरिएको बताउनुभयो । निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताउनुभयो ।
काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढ्दै गएको छ । त्यसैले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ४ गतेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । तरपनि उपत्यकामा संक्रमणको दर घट्न सकेको छैन । त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिदै पीसीआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो ।