काठमाडाैं १०, भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व कांग्रेसभित्र आवश्यक रहेको बताएका छन्। नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिले आज आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक भर्चुअल अन्तरक्रियामा सिंहले यस्तो बताएका हुन्।
उनले कांग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको पनि बताए। ‘कांग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन, कांग्रेस बलियो बनाउनका लागि ठीक नेतृत्वको हातमा कांग्रेसलाई लैजानुपर्छ,’ उनले भने। आर्थिक क्रान्तिको नेतृत्व कांग्रेसले मात्र गर्नसक्ने उनको दाबी छ। नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि मङ्गलादेवीले आवाज उठाएको बताउँदै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला सिंह भएको स्मरण गरे। पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरे। ‘मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्’, शर्माले भने। प्रवक्ता शर्माले दक्षिण एशियामा पहिलो महिला मन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रपति नेपाली महिला भएको भन्दै नेपाली महिला अमेरिकी महिलाभन्दा पनि अगाडि भएको बताए। प्रतिशत भन्दा प्रतिस्पर्धा गरेर महिला अगाडि बढ्नुपर्ने उनको भनाई थियो। सामाजिक रुपान्तरणका लागि महिला लाग्नुपर्ने प्रवक्ता शर्माको भनाई छ।
कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरिन्। केन्द्रीय सदस्य सीता गुरुङले पार्टीको विधानले टोल, वडा, पालिका, प्रदेश र केन्द्रमा ३३ प्रतिशत सुनिश्चित गरेकोले त्यो कार्यान्वयन गर्न नेतृत्वलाई दबाब दिनुपर्ने बताइन्। सङ्घकी अध्यक्ष उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला सङ्घको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको बताइन्। सङ्घकी महासचिव धना खतिवडाले पार्टीभित्र देखिएको गुट, उप गुटको पछाडि महिला लाग्न नहुने बताइन्। सङ्घका केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल, काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, झापा अध्यक्ष सुशीला ढकाल, कञ्चनपुर अध्यक्ष मधु भारती लगायतले संविधानले ग्यारेन्टी गरेको महिलाको अधिकार प्राप्त गर्नका लागि पार्टी र सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए।