जनकपुरधाम,१३ भदौ ।प्रदेश २ मा शनिबार एकैदिन एक महिलासहित ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा महोत्तरीका २ जना, सिरहाका २ जना र पर्साका ३ जना कोरोना संक्रमितको ज्यान गएको हो। महोत्तरी भंगहा नगरपालिका १ का ३५ वर्षीय युवक र पिपरा गाउँपालिका ७ का ७० वर्षीय वृद्धको ज्यान गएको छ। भंगहाका ३५ वर्षीय मृतक युवक वडाध्यक्ष नवलकिशोर कापरका एक्लो छोरा थिए। यस्तै सिरहाको सुखीपुर नगरपालिका ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका १८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। पर्साको वीरगन्ज महानगरपालिका १२ का ४८ वर्षीय पुरुष, मनियारी २२ का ३७ वर्षीय पुरुष र वीरगन्ज १२ कै ६५ वर्षीय महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेहरु प्रायः सबै दीर्घरोगी रहेका बताइएको छ। योसँगै प्रदेश २ मा मृतकको संख्या ८४ पुगेको छ। प्रदेशमा १६५ संक्रमित थपिए प्रदेश २ मा शनिबार थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ९ हजार ७९५ पुगेको छ। सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा। कमलेश प्रसाद यादवका अनुसार पछिल्लो २४ घण्टामा २० महिला र १४५ पुरुषमा कोरोना पुष्टि भएको छ। सबैभन्दा बढी धनुषामा ४९ संक्रमित थपिएका छन्। यस्तै सर्लाहीमा ४५ जना, पर्सामा ३४ जना, महोत्तरीमा २७ जना, बारामा ९ जना, र रौतहटमा १ जनामा कोरोना पुष्टि भएको छ। सिरहा र सप्तरीमा शनिबार एक जनामा पनि कोरोना पुष्टि नभएको विवरण प्राप्त भएको छ। धनुषाका संक्रमितमध्ये सानो पाइलाका ४ जना, जिल्ला प्रहरी कार्यालयका २ जना, राम जानकी अस्पतालका ६ जनामा कोरोना पुष्टि भएको छ। यस्तै लेवर एण्ड इम्प्लोइमेन्ट अफिस, बैंक अफ काठमाडौं र तुलसीयाही निकास हेल्थपोष्टका १÷१ जनामा संक्रमण देखिएको छ। धनुषाकै एक सबइन्सपेक्टर र एक ट्राफिक प्रहरीमा पनि कोरोना पुष्टि भएको छ। यस्तै महोत्तरीको जलेश्वर नगरपालकिास्थित प्रकौली सेना ब्यारेकका थप ९ जना र गौशाला नगरपालिकास्थित त्रिमाध्यमिक विद्यालयका थप २ जनामा समेत कोरोना पुष्टि भएको छ। मालपोत कार्यालय जलेश्वरका एक कर्मचारी पनि संक्रमित भएका छन्। पर्सामा थपिएका संक्रमितमध्ये वीरगन्जका(२ महिलासहित ५ जना, सानो पाइला ब्रहम टोलका ८ कर्मचारी, वडा प्रहरी कार्यालय विर्ताका १ जना र सानो पाइलाकै अन्य ठाउँमा बस्ने केही कर्मचारीसमेत छन्। सर्लाहीको मलंगवास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ३ जनामा पनि कोरोना पुष्टि भएको छ। (स्रोत थाहा सञ्चार)
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।