सल्यान, १४भदौ । सल्यानको छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार रोक्न र जिल्लाका अरु जनप्रतिनिधिको सम्पति विवरण थाहा पाउनको लागि आफुले सम्पति विवरण सार्वजनिकको सुरुवात गरेको उनले जनाएका छन् ।
आइतबार सल्यान खलंगामा पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ती वितरण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको सम्पतिमा ५ वटा घर रहेका छन् । सल्यानको श्रीनगरमा २ वटा, लान्तीमा १ वटा, दाङको तुलसीपुरमा १ वटा र काठमाण्डौँमा १ वटा गरेर ५ वटा घर रहेको अध्यक्ष केसीले जानकारी दिए ।
सल्यानका घर पारिवारिक प्रयोजन र व्यवसायीको लागि प्रयोग भएका छन् भने दाङ र काठमाडौंका घर भाडाको लागि प्रयोग भएको उनको भनाइ छ । त्यस्तै, सल्यान श्रीनगर र लान्तीमा गरेर एकरएक वटा घडेरी रहेको उनले बताए । दाङको तुलसिपुर उपमहानगरपालिकामा करिव १२ कट्ठा खेत, सल्यानको साङ्कोट, भोटेचौर, लान्ती र फलाबाङ क्षेत्रमा करिब २५ रोपनी जग्गा रहेको समेत उनले उल्लेख गरेका छन् ।
यो बाहेक झण्डै २५ तोला सुन, २ वटा ट्याक्टर, एउटा क्रेटा कार , एउटा होन्डा साइन र अर्को बुलेट मोटरसाइकल भएको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् । यो सँगै श्रीनगरमा आफ्नै घरमा संचाद सप्लायर्स (हार्डवयर) भएको र एउटा निर्माण व्यवसायी पनि दर्ता भएको उनले बताए ।
माथी उल्लेखित यी सबै सम्पत्ती आफ्नो, आमा अम्बिका कुमारी केसी, श्रीमती चाँदनी केसी शाह र भाइ सुदन केसीमा नाममा रहेको अध्यक्ष केसीको भनाई छ ।
आम्दानीको रुपमा श्रीमतीले संचालन गरिरहेको श्रीनगरको संचाद सप्लायर्सबाट बार्षिक १० करोड बढिको कारोबार गर्ने र ७० लाख सम्म आम्दानी हुने अध्यक्ष केसीले बताए । त्यस्तै काठमाडौंको घरबाट अहिले मासिक ५० हजार र दाङ तुलसीपुरको घरबाट मासिक करिब ५ लाख भाडा आउने गरेको उनको भनाइ छ ।
तलबको रुपमा भाई सुधन केसी तारा यएरलाईन्सको क्याप्टेन(पाईलट भएको र वार्षिक ७५ लाख आम्दानी हुने गरेको विवरणमा उल्लेख छ । त्यस्तै आफ्नो जनप्रतिनिधिको रुपमा वार्षिक ३ लाख ६० हजार तलब आउने गरेको उनले बताए ।
ऋणको रुपमा दाङमा घर बनाउने देखि लिएर पहिलेदेखि नै व्यवसायीमा लगानीका लागि कुमारी बैंकमा ७ करोड ९५ लाख ५० हजार ऋण भएको उनले बताए । आजका दिनसम्म बैंक ब्यालेन्स ३५ लाख भएको र यो व्यवसायी प्रयोजनमा दिनप्रतिदिन प्रयोग हुने उनको भनाइ छ ।
यो सम्पति धेरैजसो आफ्नो पुर्खाबाट आएको उनको भनाइ छ । आफ्नो परिवार पहिलेदेखि नै व्यापार व्यवसायमा लागेको र त्यसैको कार्यभार आफुले समालेको उनले बताए । आफु जनप्रतिनिधि भएको कारण नैतिकताका आधारमा आफुले सम्पति विवरण सार्वजनिक गरेको उनले बताएका छन् ।
जनप्रतिनिधि भैसकेपछि विभिन्न प्रश्न उठ्ने भन्दै उनले आफु किलियर हुनुपर्ने बताए । आफुहरु व्यवसायीक रुपमा लागेर सम्पती आर्जक गरेको भन्दै उनले धेरैजसो जनप्रतिनिधिहरु जिवनभर राजनिति बाहेक अरु केहि नगरेर थुप्रै सम्पती आर्जन गरेको भन्दै नैतिकताका हिसाबले सार्वजनिक गर्न आग्रह गरका छन् ।