काठ्मान्डौ,१९ भदौ ।अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्।सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खतिवडाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्। यसअघि मन्त्री खतिवडाले आजै बसेको मन्त्रिपरिषद बैठकमा राजीनामा गर्ने जानकारी गराएका थिए।
मन्त्रिपरिषद बैठकमा उनले आफूले गरेका कामबारे समेत झण्डै एक घण्टा जानकारी गराएका थिए।त्यसपछि अर्थ र सञ्चार मन्त्रालयमा कर्मचारीहरूसँग बिदा भएर उनी बालुवाटार गएका हुन्।उनी आजैदेखि आफ्नो निजी निवास गएका छन्।मन्त्री खतिवडाको कार्यकाल भदौ २० गतेसम्म रहेको थियो।
संघीय संसदको सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने भएकाले उनले राजीनामा दिएका हुन्।खतिवडाको २ वर्षे कार्यकाल फागुन २० गते सकिएको थियो।अन्तिम समयसम्म पनि प्रधानमन्त्री ओलीले खतिवडाको कार्यकाल दोहोर्याउन चाहेका थिए। तर नेकपा सचिवालयका बहुमत सदस्यहरू उपाध्यक्ष वामदेव गौतमका पक्षमा रहेपछि प्रधानमन्त्री ओली स्वयमले गौतमको नाम सचिवालयमा प्रस्ताव गरेका थिए।