एजेन्सीको सहयोगमा। कोभिड महामारीका कारण युरोपमा महिनौँ बन्द रहेका स्कुलहरु यतिखेर खुल्ने तयारी गरिरहेका छन् र धेरै देशमा यसै हप्तादेखि कक्षाहरु सञ्चालन हुन थालिसकेका छन् । कोरोनाभाइरसका कारण यसवर्ष नराम्ररी प्रभावित शैक्षिक क्षेत्रले बालबालिकाहरुको भविष्यमा सीधा असर पारेको छ । यसबीच यी युरोपेली राष्ट्रहरुले फरक–फरक ढङ्गमा भाइरस नियन्त्रणमा राख्दै विद्यालय सञ्चालन गर्ने प्रयास गरिरहेका छन्–
बेलायत–
बेलायतमा प्रारम्भिक कक्षाहरु गत जुन १ देखि नै खुलाइएको थियो र १५–१८ वर्षका विद्यार्थीहरुलाई पनि जुन १५ बाट स्कुल जान सुरु गर्न भनिएको हो । यो हप्ता चाहिँ सबै वर्गका विद्यार्थीहरुलाई पूरै कक्षा पढाइने निर्णय भएको छ । स्कटल्यानडका विद्यालयहरु पनि अगस्ट ११ देखि पुनः सञ्चालनमा ल्याइने बताइएको छ ।
यसमा ९६ प्रतिशत स्कुलले विद्यार्थीहरुलाई ससानो समुहमा विभाजित गरि पढाउने शैली अपनाइरहेको हालैको एक सर्वेक्षणले देखाएको हो । ती सबै समुहलाई एक अर्काबाट सुरक्षित दुरीमा राख्दै कक्षा सञ्चालन गरिनेछ जसले भाइरस फैलने जोखिम न्युन पार्नेछ । त्यसैगरी स्कुलमा ‘ब्रेक टाइम’ पनि समुह अनुसार फरक फरक समयमा राखिनेछ ।
फेस्क मास्क लगायत अन्य सुरक्षाका उपाय सम्बन्धी नियम साना र ठुला कक्षाका विद्यार्थीका लागि भिन्दाभिन्दै हुनेछ । जस्तै बेलायतमा माध्यमिक तहका विद्यार्थीले तिनीहरु बस्ने क्षेत्रमा लकडाउन जारी गरिएको भएमा स्कुल बाहिर निस्कदा मास्क लगाउनुपर्ने हुन्छ । यता स्कटल्यान्डमा चाहिँ स्कुल भित्रै पनि हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनैपर्ने नियम रहेको छ ।
फ्रान्स–
फ्रान्समा पनि सेप्टेम्बर १ देखि देशभरका विद्यालयहरु सञ्चालनमा ल्याइएको छ । त्यहाँ ११ वर्ष भन्दा माथि उमेरका सबैले हरेक समय, कक्षा भित्र बस्दा समेत अनिवार्य मास्क लगाउनै पर्ने हुन्छ । त्यस्तै कक्षा कोठाहरु हावा पस्ने किसिमले खुला राख्ने व्यवस्था गरिने र नियमित डिसइन्फिेक्ट छर्किनेछ । विद्यार्थीहरुलाई सानो समुहमा विभाजित गर्ने र एकसाथ नमिसाउन सम्बन्धि पनि ध्यान दिइने भनिएको छ ।
सरकारले अहिले सबै बालबालिकाका लागि स्कुलमा उपस्थिति जनाउनु अनिवार्य बताइरहेको छ । यसमा कोरोना संत्रमण तिव्र बढेको अवस्थामा केही स्थानीयलाई मात्र अपवाद मानिनेछ । कुनै ठाउँमा अचानक सामुदायिक संक्रमण वृद्धि भएमा स्कुल अस्थाइ रुपमा बन्द गर्न सकिनेछ ।
किन्डरगार्टेनका बालबालिकाहरुले भने एउटै कक्षाको समुह भित्र सामाजिक दुरी कायम राख्नु पर्नेछैन । प्रारम्भिक कक्षामा ८ देखि १५ को सङ्ख्यामा समुह बनाइ वैकल्पिक दिनमा केहीलाई आधा दिन घरबाट र केहीलाई स्कुलमा गरि पढाउनुपर्ने हुन्छ ।
नर्वे–
नर्वेमा विद्यालयहरु अप्रिल २७ देखि नै बिस्तारै खुलाइँदै गएका थिए । त्यहाँ स्कुलहरु सामान्य रुपमा अरु बेलाको जस्तै समयमा सञ्चालन भइरहेका छन् भने मास्क लगाउन पनि अनिवार्य गरिएको छैन ।
अनलाइन कक्षा बन्द गरिएको छ तर एउटा कक्षाका विद्यार्थी अर्को समुहसँग मिसिन भने पाउँदैनन् । ब्रेकको बेलामा प्रत्येक कक्षालाई मैदानका छुट्टाछुट्टै हिस्सामा मात्र घुमफिर गर्न र खेल्न अनुमति दिइएको छ । लक्षण देखा परेमा विद्यार्थीहरु घरभित्रै बसिरहनुपर्ने हुन्छ र कोभिडको परीक्षण गराउनुपर्नेछ ।
किन्डरगार्टेनका बालबालिकाहरुले सामान्य लक्षण देखा पर्दा स्कुल गइरहन पाउँछन् तर गम्भीर भएमा चाहिँ घरमै बस्नुपर्ने हुन्छ ।
पोल्यान्ड–
पोल्यान्डमा पनि सेप्टेम्बर १ देखि देशभरका विद्यालय खुलेका हुन् जहाँ मास्क लगाउन अनिवार्य गरिएको छैन । केही स्कुल र नगरपालिकाहरुले विद्यालय खोल्नमा ढिलाइ गर्ने सम्बन्धी गरेको अनुरोध यसअघि अस्वीकार गरिएको हो । यसमा वारस लगायत कतिपय शहरमा प्रारम्भिक र उच्च माध्यमिक तहका विद्यालयहरुमा भीडभाड बढी हुने सम्बन्धी शिक्षा विद्हरुले चिन्ता जनाइरहेका छन् । तिनका अनुसार सो क्षेत्रमा सामाजिक दुरीको नियम पालन गर्नु असम्भव छ । तर सरकारले विद्यार्थीहरुको उपस्थिति अनिवार्य गराएको हुँदा बालबालिकालाई स्कुल पठाउन नमानेमा, सो परिवारले २,७१० डलर सम्मको जरिवाना तिर्नुपर्ने हुन्छ ।
जर्मनी–
जर्मनीमा अगस्तको सुरुवातदेखि नै बालबालिकाहरुको पूरै कक्षा पढाइ सञ्चालन भइरहेको छ । अधिकांश स्टेटमा विद्यार्थी र शिक्षक दुवैलाई कक्षा भित्र आफ्नो डेस्कमा बस्दा बाहेक अरु सबै समय अनिवार्य मास्क लगाउन भनिएको छ ।
त्यस्तै ब्रेक टाइमको समयलाई भनेर विभिन्न समुहका विद्यार्थीलाई छुट्टा छुट्टै स्थान निर्धारित गरिएको हुन्छ र उनीहरु त्यहाँ मात्र घुमफिर गर्न पाउँछन् । सबै कक्षामा झ्याल र ढोका सकेसम्म खुला राख्नुपर्ने हुन्छ । यसबीच प्रायः शिक्षकहरु विद्यालय फर्किसकेका छन् तर अभियन्ताहरुले तिनको सुरक्षाका लागि थप कदम उठाउन जोड दिइरहेका छन् । विशेष परिस्थितिमा अझैपनि अनलाइन मार्फत नै पढाइने व्यवस्थथा पनि रहेको छ ।
स्वीडेन–
स्वीडेनका स्कुल भने महामारीभर खुलै राखिएको थियो र अगस्तको मध्यमा गर्मीयामको छुट्टीपछि अहिले फेरि विद्यार्थीहरु स्कुल फर्किने तयारी गरिरहेका छन् । त्यहाँ स्थानीय अधिकारीहरुले नै महामारीलाई व्यवस्थित गर्ने सम्बन्धी सबै निर्णय गर्छन् जसमा कुनै निश्चित स्कुल बन्द गर्ने या खुलाउने जिम्मा पनि उनीहरुलाई नै दिइएको छ ।
प्रत्येक स्कुलले सामाजिक दुरी र सरसफाइ सम्बन्धी निर्देशनहरु पालन गर्नुपर्ने हुन्छ तर मास्कको प्रयोग अनिवार्य छैन ।
कतिपय क्षेत्रमा भीडभाड कम गर्नका लागि स्कुलको तालिकामा फेरबदल गरिएको छ । स्वीडेनमा यसअघिका महिनाहरुमा स्कुल खुल्ला राख्दा पनि विद्यार्थीहरुमा संक्रमण दर वृद्धि भएको पाइएन । जबकी छिमेकी देश फिनल्यान्डमा चाहिँ अचानक स्कुलबाट संक्रमण फैलिएपछि अस्थाइ समयका लागि सबै विद्यालय बन्द गराउनु परेको थियो ।
ग्रिस–
ग्रिसका अधिकारीहरुले संक्रमण सङ्ख्या अचानक वृद्धि भएपछि स्कुल खुलाइने दिनलाई थप स्थगित गरि सेप्टेम्बर १४ को मिति तोकेका हुन् । त्यहाँका विद्यार्थी , शिक्षक लगायत स्कुलका सबै कर्मचारीलाई कपडाको मास्क वितरण गरिनेछ र कक्षा भित्र होस् या बाहिर अनिवार्य मास्क लगाउनैपर्ने हुन्छ ।
इटली–
इटलीमा पनि अधिकांश क्षेत्रमा स्कुलहरु आगामी सेप्टेम्बर १४ देखि खुलाउन, भाइरसको जोखिम न्युन गराउने सम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ । जस्तै स्कुलभित्र सामाजिक दुरी कायम राख्न नयाँ डेस्कहरु ल्याइ तिनको व्यवस्थापन भइरहेको छ । स्कुल प्रवेश गरेदेखि पढाइ सकेर बाहिर जाँदासम्म मास्क लगाइरहनुपर्ने हुन्छ । यसमा दुईवटा डेस्कबीच सुरक्षित दुरी राखिएको अवस्थामा कक्षाभित्र केही समयका लागि मास्क खोल्न पाइनेछ ।
ठुल्ठुला कक्षा भएका केही माध्यमिक तहलाई भने भीडभाड कम गराउन समूहमा विभाजित गरि छुट्टा छुट्टै स्थानमा पढाइनेछ । त्यस्तै सरकारले विद्यार्थीहरुलाई स्कुलसम्म सुरक्षितगरी आवतजावत गर्न सजिलो बनाइदिनका लागि सार्वजानिक यातायातमा अतिरिक्त लगानी गर्न सहमति जनाएको छ ।
यति गर्दागर्दैपनि कुनै शिक्षक वा विद्यार्थी संक्रमित भएमा पूरै स्कुल वा कुनै कक्षा बन्द गर्ने अथवा संक्रमित र तिनको सम्पर्कमा आएकालाई मात्र क्वारेन्टिनमा राख्ने सम्बन्धी निर्णय स्कुलका हेड टिचर र स्वास्थय अधिकारीहरुले लिनेछन् ।
द नेदरल्यान्ड्स–
नेदरल्यान्डसमा प्रारम्भिक र माध्यमिक तहका स्कुलहरु यही अगस्तदेखि विभिन्न चरणमा खुलाउने तयारी भइरहेको छ । यसमा दुवै तहका कक्षाहरु सामान्य रुपमा सञ्चालन हुनेछन् भने विद्यार्थी र शिक्षक कसैका लागि पनि मास्क जरुरी छैन । यही कारण कतिपय शिक्षकहरु काममा फर्कन हिचकिचाइरहेपछि केही स्कुलले मास्क लगाउने विषयलाई अनिवार्य गर्ने योजना बनाइरहेका छन् ।
त्यहाँ कोही विद्यार्थी या कर्मचारी संक्रमित भएमा सो व्यक्तिका साथै तिनको परिवार पनि १० दिनसम्म घरभित्रै बसिरहनुपर्ने हुन्छ । ६ वर्ष भन्दा माथिको उमेरका बालबालिकाले कोरोनाको लक्षण देखाएमा उनीहरु पनि घरमै बस्नुपर्ने हुन्छ र कोभिडको परीक्षण गराउनु पर्नेछ ।
ती भन्दा साना बालबालिकाले चाहिँ सामान्य रुघाखोकी लागेमा पनि स्कुल गइरहन सक्नेछन् तर ज्वरो आएको अवस्थामा भने घरमै बस्नुपर्ने हुन्छ ।
रुस–
रुसले पनि अन्य युरोपेली मुलुकहरु जस्तैगरी सेप्टेम्बर १ बाट स्कुल खुलाउने निर्णय गरेको हो । भीडभाड कम गर्नका लागि त्यहाँ कक्षा र ब्रेकको समयमा हेरफेर गरिनेछ । स्कुलभरि नै नियमित सबैको तापमान जाँच गरिनेछ र रुघा खोकीको लक्षण देखाउने विद्यार्थीहरुलाई आइसोलेट गरि राखिनेछ ।
बालबालिकाहरुलाई मास्क लगाउन सुुझाव दिइएको छ तर अनिवार्य छैन ।
विद्यालयका अरु कर्मचारीले चाहिँ हरेक समय मास्क लगाउनैपर्छ र विद्यार्थीसँग सुरक्षित दुरीमा भएको बेलामा वा पढाउँदा खोल्नैपर्ने भएमा मात्र मास्क फुकाल्न पाउनेछन् । यसको विकल्पमा कुनै अनलाइन कक्षा जारी नगरिने बताइएको छ ।
स्पेन–
स्पेनमा पनि सेप्टेम्बरको पहिलो तीन हप्तामा प्रारम्भिक र माध्यमिक तहका कक्षा देशभरि नै सञ्चालन गरिने बताइएको छ । यसमा विद्यार्थीहरुको उपस्थितलाई अनिवार्य गरिएको छ भने ६ वर्षभन्दा माथिका सबैले कक्षाभित्र रहँदा समेत मास्क लगाउनैपर्ने र सबैले दिनमा पाँचपटक हात धुनुपर्ने हुन्छ ।
त्यहाँ विद्यार्थीहरुलाई ससानो समूहमा विभाजित गरिएको हुन्छ र उनीहरुले त्यस बाहेकका अरु समुहबाट सामाजिक दुरी कायम राख्नुपर्नेछ । प्रत्येक दिन बिहान घरमा होस् या स्कुलमा, सबैको तापमान जाँच गरिनेछ । रोयटर्सबाट