दाङ,२३ भदौ। दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको ७७ जनाको स्वाब परीक्षणमा २ जना पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
संक्रमित हुनेमा जिल्लाको गढवा गाउँपालिकाका ५० वर्षीय १ पुरूष र ५६ वर्षीया महिला रहेका छन् भने शान्तिनगर गाउँपालिकाका २६ वर्षीय १ जना पुरूष छन् । गढवाबाट संकलित २८ जनाको स्वाब परीक्षण गर्दा २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै, शान्तिनगर गाउँपालिकाबाट संकलित ५२ जनाको स्वाब परीक्षण गर्दा ५१ जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय दाङका कोभिड(१९ फोकल पर्सन चन्दले बताए ।
दाङमा मंगलबार थप ३ जनामा कोरोना देखिएसँगै जिल्लामा अहिलेसम्म ८४३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ७२७ जना उपचारपछि निको भई डिस्चार्ज भइसकेका छन् अब ११३ जनाको विभिन्न आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ ।
जस अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा २४ जना, देउखुरीस्थित कोरोना आइसोलेसन सेन्टर मौरीघाटमा १४ जना, पद्मोदय आइसोलेसनमा ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, जिल्ला बाहिरका आइसोलेसनमा १२ जना र सबैभन्दा बढी होम आइसोलेसनमा ६३ जना उपचाररत छन् । जिल्लामा सबैभन्दा बढी प्रभावित घोराही उपमहानगरका नागरिक भएका छन् ।
अहिलेसम्म घोराहीमा ३३९ जना कोरोना संक्रमित भएकोमा २७५ जना निको भइसकेका छन् भने ६२ जना अझै संक्रमित रहेका छन् । यस्तै, दंगीशरणका १ जना, शान्तिनगरका ४ जना, तुलसीपुरका ३४ जना, लमहीका १ जना, राप्ती गाउँपालिकाका ७ जना, गढवाका ३ जना र राजपुरका २ जना गरी ११३ जना आइसोलेसनमा रहेका छन् ।
यसैबीच, समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रणका लागि जिल्लामा लागु गरिएको निषेधाज्ञासँगै परीक्षणको दायरा बढाइएको बताइएको छ । बिगत एक सातामा जिल्लाभर साढे १५ सय स्वाब संकलन भएको छ । तीमध्ये १४ सय बढीको परिक्षण रिपोर्ट आउँदा करिब ५ प्रतिशतमा कोरोना देखिएको छ । यद्यपि, कोरोना पुष्टि हुनेमा ५० प्रतिशत बढी समुदायस्तरका रहेका छन् ।