बीबीसी\ काठ्मान्डौ,२५ भदौ। यदि यो दुनियाँबाट भाइरसलगायत किटाणुहरु पूर्ण रुपमा हरायो भने पृथ्वीमा केकस्तो बदलाव आउँछ होला ?
अहिलेसम्मको अवस्था हेर्दा भाइरसले मानव समुदायलाई हानि मात्र पुर्याइरहेको देखिन्छ । स्वास्थ्यमा क्षति पुर्याउनुका साथै अहिले काभिड–१९ ले विश्वव्यापी अर्थतन्त्र तहसनहस पारि दैनिक जनजीवन अस्तव्यस्त बनाइदिएको छ । एकैपटकमा हजारौँ लाखौँको ज्यान लिने भाइरसहरुको धेरै लामो इतिहास छ । जस्तै १९१८ को इन्फ्लुएन्जाले ५ –१० करोडको मृत्यु गराएको थियो भने २० औँ शताब्दीमा पनि ‘स्मल पक्स’ एक्लैले २० करोड मानिसको ज्यान लिएको थियो । यसरी अहिलेको कोभिड–१९ महामारी जस्ता खतरनाक भाइरसहरुबाट मानव समुदाय लगातार गुज्रिरहनुपरेको छ ।
बम
बम
बम
त्यसैले पनि विशेषगरी अहिले, मानिसहरुलाई दुनियाँबाट भाइरस गायब गरिदिन पाए पनि हुन्थ्यो जस्तो भइरहेको छ । तर वास्तवमा भाइरस पूर्ण रुपमा हराउनु स्वयम भाइरस भन्दा खतरनाक साबित हुन सक्ने वैज्ञानले देखाउँछ ।
युनिभर्सिटी अफ विसकन्सिनका एपिडेमोलोजिस्ट टोनी गोल्डबर्ग भन्छन्, “अचानक सबै भाइरसहरु हराउने हो भने एक दिनका लागि दुनियाँ सुरक्षित भए जस्तो लाग्नेछ तर त्यसको अर्को दिन हामीलाई बाँच्न गाह्रो पर्नेछ । किनकी संसार चलाउन भाइरसले खेल्ने आवश्यक भूमिका, यसका नकारात्मक पक्ष भन्दा धेरै गुणा ठूलो छ । ”
वास्तवमा अधिकांश प्रजातिका भाइरसहरु मान्छेका लागि हानिकारक हुँदैनन् र हाम्रो वातावरण सामान्य रुपमा सञ्चालन गर्नका लागि यिनको भूमिका मुख्य रहँदै आएको छ । किरादेखि बिरुवा र मान्छेसम्मको जीवन सन्तुलित राख्नमा भाइरसको ठूलो योगदान हुन्छ । यसकारण पनि भाइरस नहुने हो भने मान्छे अहिले जसरी बाँच्न नसक्ने युनिभर्सिटी अफ मेक्सिकोकी भाइरोलोजिस्ट सुसन लोपेज बताउँछिन् ।
तर पृथ्वीमा जीवन सम्भव पार्न भाइरस कति महत्वपूर्ण छ भन्ने धेरैलाई थाहा छैन किनकी अहिलेसम्म हामीले यसलाई केबल समस्याका रुपमा हेर्ने गरेका छौँ ।
त्यसैगरी यसको अर्को कारण भनेको अधिकांश भाइरोलोजिस्टहरुले नै प्याथोजेन अर्थात् मान्छेलाई हानि पुर्याउने भाइरसका बारेमा मात्र अध्ययन गर्दै आएका छन् र केही वर्ष अगाडिदेखि मात्र उनीहरुले मान्छेलाई मार्ने नभएर पृथ्वीलाई जिवित राख्न मद्दत गर्ने भाइरसबारे रिसर्च गर्न सुरु गरेका हुन् ।
गोल्डबर्ग भन्छन्, “यी वैज्ञानिकहरु सानो समुहमा भएपनि उनीहरले पृथ्वीमा राम्रा भाइरस पनि छन् जसले हामीलाई फाइदा पुर्याउँछन् भन्ने देखाउँदै भाइरस प्रतिको धारणा बदल्ने प्रयास गरिरहेका छन् ।”
विज्ञहरुले अहिलेसम्मको खोजबाट पत्ता लगाए अनुसार भाइरस भएन भने पृथ्वीमा मान्छे सहित कुनैपनि जीवन सम्भव हुनेछैन । र अर्को कुरा हामीले चाहेर पनि पृथ्वीका सबै भाइरस नष्ट गर्न सक्नेछैनौँ ।
तर भाइरसमुक्त दुनियाँ कस्तो हुनेछ भन्ने कल्पनाले भने हामीलाई तिनको महत्व अझ राम्ररी बुझ्न मद्दत गर्ने बताइएको छ ।
र अहिले कोरोना भाइरसले महामारीको रुप लिइरहँदा मान्छेले भाइरस सम्बन्धी अध्ययनको आवश्यकता झन बढी महसुस गरिरहेको पनि पाइन्छ ।
पहिलो कुरा त वैज्ञानिकहरुलाई अहिलेसम्म दुनियाँमा कति भाइरस छन् भन्ने नै थाहा छैन । हजारौँलाई वैज्ञानिक नाम र प्रजातिका आधारमा विभाजित गरिएको छ तर अझै लाखौँका सङ्ख्यामा रहेका भाइरसहरु पहिचानमा आएका छैनन् ।
पेन स्टेट युनिभर्सिटीकी भाइरस सम्बन्धी विज्ञ मेरिलिन रुसिनिक भन्छिन्, “हामीले पृथ्वीका भाइरसको एकदम सानो हिस्सा मात्र पत्ता लगाउन सकेका छौँ । किनकि मान्छेले यसको धेरै खोजी गरेकै छैनन् । विज्ञानले सधैँ प्याथोजेनका बारेमा मात्र अध्ययन गर्न लगाउने भएकाले पनि यसप्रति विज्ञहरुको पर्याप्त ध्यान जान सकेको छैन ।”
त्यस्तै वैज्ञानिकहरुलाई कति प्रतिशत भाइरस हाम्रा लागि समस्याजनक हुन सक्छन् भन्ने पनि थाहा छैन ।
यसबारे युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका वातावरणीय भाइरोलोजिस्ट कुर्टिस सटल भन्छन्, “तथ्यांक हेर्ने हो भने मान्छेलाई हानि पुर्याउने भाइरस अत्यन्तै थोरै मात्र भेटिनेछन् । ”
यसमा सबैभन्दा महत्वपूर्ण ‘फेज’ नामक भाइरसलाई मानिन्छ जसले ब्याक्टेरिया लगायत किटाणुलाई नै संक्रमण गर्छ । यसको नाम ग्रिकको शब्द ‘फेजिन’ बाट लिइएको हो जसको अर्थ भस्म गर्नु हो । र वास्तवमै फेजलाई ब्याक्टेरियाको दुनियाँमा अत्यन्तै खतरनाक शिकारी मानिन्छ । यो नहुने हो भने हामी ठूलो संकटमा पर्न सक्ने गोल्डबर्ग बताउँछन् ।
फेज समुद्रमा ब्याक्टेरियाको जनसङ्ख्या नियन्त्रण गर्ने भाइरस हो । साथै यसले पृथ्वीको अन्य वातावरणीय चक्रमा पनि त्यत्तिकै महत्वपूर्ण भूमिका खेल्छ ।
यदि सबै भाइरसहरु हराउने हो भने केही ब्याक्टेरियाको जनसङ्ख्या अचानक तिव्र रुपमा बढ्नेछ र त्यसलाई नियन्त्रण गर्ने कुनै माध्यम हुनेछैन ।
यो विशेषगरी समुद्रका लागि समस्याजनक हुनेछ जहाँ ९० प्रतिशत सुक्ष्म जीव बसोबास गर्छन् र तिनैबाट पृथ्वीमा आधा भन्दा बढी अक्सिजन उत्पादन हुँदा मानव समुदाय लगायत सम्पूर्ण जिवित प्राणीमा यसको प्रत्यक्ष असर पर्नेछ ।
यो भाइरसले समुद्रका ५० प्रतिशत ब्याक्टेरियाहरु मारेर अक्सिजन उत्पादन गर्ने सुक्ष्मजीवका लागि पर्याप्त पोषण तत्व पुर्याइदिने गर्छ ।
सटल भन्छन्, “मृत्यु नहुने हो भने पृथ्वीमा जीवन पनि सम्भव छैन । किनकी मृत्युपछि रिसाइकल भएर नै नयाँ जीवनको उत्पति हुन्छ । र यो चक्र पूरा गर्ने प्रक्रिया भाइरसमै पूर्ण निर्भर छ ।”
किराहरु सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकले पनि कतिपय प्रजातिको जनसङ्ख्या नियन्त्रण गर्नमा भाइरस अधिक महत्वपूर्ण रहेको पत्ता लगाइसकेका छन् ।
भाइरस नहुने हो भने थुप्रै प्रजातिका जीवजन्तुहरुको जनसङ्ख्या आवश्यक भन्दा बढी हुनेछ । यही समस्या आउन नदिन भाइरसले त्यस किसिमको प्रजातिलाई आक्रमण गरि एकैपटकमा धेरैलाई सखाप पारिदिने गर्दै आएको छ । यो अहिलेसम्म हाम्रो वातावरणको प्राकृतिक प्रक्रियाका रुपमा वर्षौँदेखि चलिआएको रुसिन्क बताउँछन् । यसलाई ‘किल द विनर’ पनि भनिन्छ । यो किरा, जङ्गली वन्यजन्तुदेखि मान्छेसम्ममा लागू हुने उनको भनाइ छ ।
सटल भन्छन्, “जब कुनै प्रजातिको जनसङ्ख्या अत्याधिक बढ्न पुग्छ त्यतिबेला भाइरसले तिव्र हमला गरि सो जनसङ्ख्या नियन्त्रण गरि अरु प्रजातिलाई बाँच्नका लागि ठाउँ बनाइदिने गर्दछ ।”
तर भाइरस हराउने हो भने प्रतिस्पर्धी प्रजातिहरुले मात्र वंश अघि बढाउन सक्नेछन् र बाँकी सबै लोप हुँदै जानेछ । यसका कारण वातावरणले धेरै बोटविरुवा र जीवजन्तु गुमाउनुपर्ने हुन सक्छ र क्षमतावान् केही प्रजातिले मात्र सबैतिर कब्जा गर्नेछन् । यति मात्र नभएर कतिपय प्राणीहरुको जीवन भाइरसमै निर्भर हुने गरेको पनि पाइएको छ । जस्तै वैज्ञानिकहरुका अनुसार गाइले घाँसलाई पचाएर त्यसलाई ‘सुगर’ लगायत अन्य तत्वमा परिणत गर्दा भााइरसको भूमिका महत्वपूर्ण हुन्छ ।
त्यही पाचन प्रक्रिया पश्चात् उत्पादन भएको सुगर, पछि गएर गाइको शरीरमा मांसपेशी र दूध बन्ने गर्दछ ।
त्यस्तै मान्छेको शरीरमा पनि स्वस्थ ‘माइक्रोबायोम्स’ हरु सन्तुलित राख्न भाइरसले मद्दत गर्ने गरेको छ । यी कुराहरु धेरैले राम्ररी बुझेका हुँदैनन् तर भाइरस र अन्य प्राणीबीचको नजिकी सम्बन्ध इकोसिस्टमको अति जरुरी हिस्सा हो । रुसिन्क र उनका सहकर्मीहरुले गरेको अर्को एक अनुसन्धानमा पनि भाइरसका कारण जटिल भूगोलमा पनि कतिपय घाँस र बिरुवाहरु उम्रिन सकेको पत्ता लागेको हो ।
त्यस्तै कतिपय भाइरसबाट संक्रमित हुनुले हामीलाई खतरनाक रोगबाट बचाउन सक्ने प्रमाण पनि प्राप्त भएको छ ।
जस्तै ‘जीबी भाइरस सी’ मान्छेको रगतमा पाइने सामान्य भाइरस हो जसले कुनै हानि पुर्याउँदैन र उल्टै एचआइभी संक्रमितहरुलाई डेंगु, वेस्ट नाइल भाइरसहरु विकसित हुन ढिलो गराइदिन्छ ।
यसअधिका अध्ययनमा जीबी भाइरसले इबोलाबाट संक्रमित मानिसमा मृत्यु हुने सम्भावना न्युन गराइदिने पनि देखिएको थियो । यसरी एन्टिबायोटिकले पनि काम गर्न नसकेका विभिन्न अवस्थामा भाइरसले धेरै मानिसको ज्यान बचाएको प्रशस्तै उदाहरण भएको सटल बताउँछन् ।
तर वैज्ञानिकहरुले अहिले आएर मात्र भाइरसप्रति रुची राखिरहेकाले पनि यसका उपयोगीताबारे बल्ल खुलासा भइरहेको बताइएको छ । त्यसैले भाइरसहरुको अध्ययन अनुसन्धानलाई थप विस्तार गर्ने हो भने पछि यसको जैविक गुणको फाइदा उठाइ भाइरल जिनहरु नष्ट गर्न सकिने गोल्डबर्गले बताए ।
यिनीहरुबारे जति धेरै जानकारी संकलन गर्न सक्यो त्यति नै हामी आगामी महामारीका लागि तयार रहन सक्छौँ ।