काठमाडौं,२८ माघ । प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनिहरुले नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको वृहत् जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले ओलीको धम्कीबाट खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह गरे ।
सम्बोधनका क्रममा प्रचण्ड ‘आयोगका कोही कोही मान्छे।। बढी नभनौं, भन्यो भने फेरि बिग्रिने हो कि’ भन्दै रोकिएका थिए । तर, सहभागीहरुको हुटिङपछि उत्साहित भएका उनले केन्द्रीय कमिटीको ७० प्रतिशत हामीसँग छ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताए । प्रचण्डले भने, ‘त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईको खुट्टी देख्छ नेपालले ।’
प्रचण्डले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिए ।
आयोगसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेरिरहेको सर्वोच्च अदालततर्फ संकेत गर्दै प्रचण्डले आफूले बोल्दा ९अदालतको० अपमान गरेको आरोप पनि लाग्ने गरेको भन्दै भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर ।’
आफ्नो पक्षले गरेको सभामा भएको उपस्थितिले पनि अदालतलाई सहज हुने प्रचण्डले दाबी गरे । ‘संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न भन्ने म ठान्दछु’ उनले भने, ‘त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन ।’