राजनीतिक दलहरु सत्ता समीकरणको जोड घटाउमा लागे

काठमाडौं,१० चैत ।– गत फागुन २३ को सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि राजनीतिक दलहरु सत्ता समीकरणको जोड घटाउमा लागेका छन् ।

अहिले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारको नेतृत्व गरिरहेका छन् । सर्वाेच्चको फैसला अघि तत्कालीन नेकपा हुँदा एमाले र माओवादी एउटै पार्टी थिए । तत्कालीन नेकपाभित्रको आन्तरिक विवादका कारण देखाएर गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे । तर ओलीको कदम असंवैधानिक भन्दै सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्‍यो ।

नेकपामा रहँदा ओलीले सत्तामा रहेर जथाभावी गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकातिर हुँदा ओली अर्काेतिर रहेका थिए । नेकपामा हुँदा ओली पार्टीमा अल्पमतमा थिए । सर्वाेच्चले एमाले र माओवादीलाई पहिलाकै अवस्थामा फर्काइदिएपछि भने ओली शक्तिशाली बनेका छन् । पार्टीभित्र शक्तिशाली बन्दै गइरहेको अवस्थामा आफू नेतृत्वको सरकार पनि टिकाइरहने योजनामा ओली रहेका छन् । उनले मंगलबार मात्रै जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारका लागि छलफल गरेका छन् । ओलीको बिकल्पमा नेपाली कांग्रेस, माओवादी र जसपाको सरकार बन्ने अवस्था रहेपनि बिपक्षीको गठबन्धन रोक्न ओली लागि परेका छन् ।त्यसैको कडी हो जसपासंगको छलफल । ओलीले यस अघि पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सहयोगका लागि जसपासंग छलफल गरेका थिए ।

विपक्षी दलमा एकले अर्काेलाई पर्ख र हेरको अवस्थामा ओलीको छलफल
ओलीको प्रतिनिधि सभा विघटनको कदम विरुद्ध सडकमा उत्रेका नेपाली कांग्रेस,जसपा र तत्कालीन नेकपामा रहेका र हाल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एकले अर्काेलाई पर्खेर हेर्ने र अनिमात्रै आगामी रणनीति तयार पार्ने पक्षमा रहेका छन् । विपक्षी दलबीच नै सत्ता समीकरणमा अलमल भइरहेका बेला ओलीले जसपालाई हातमा लिएर विपक्षी गठबन्धन रोक्न खोजेका छन् ।

माओवादी पनि अलमलमा
माओवादी केन्द्र ओलीलाई सत्ताबाट झारेर उनको विकल्पमा सरकार बनाउन चाहन्छ । तर जसपा र कांग्रेसले के गर्लान् भन्ने स्पट नपारेकै कारण उसले ओलीलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । उता कांग्रेस र जसपा माओवादीले समर्थन फिर्ता नलिएकै कारण बिपक्षी गठबन्धन बन्न नसकेको बताइरहेका छन्। यी दलमा एकले अर्काेलाई विश्वास गर्न नसक्दा ओलीको सत्ता झन लम्बिदै छ।

जसपाको दाउ
कांग्रेसले सत्तामा जान हतार नगर्ने बताएको र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा जसपा भने सत्तामा जानका लागि प्रधानमन्त्री ओलीसंग वार्ता गरिरहेको छ । एउटा न एउटा बहाना बनाएर जसपामा पनि पूर्व राजपा पक्ष सरकारमा जान खोजिरहेको छ । उ ओलीसँग सत्तामा जाने भर्याङ खोजिरहेको छ ।

सत्ताको साँचो जसपाकै हातमा छ । सांसद रेशम चौधरीलाई थुनामुक्त गर्नुपर्ने लगायतका माग अघि सारेपनि अरुबेला त्यसमा त्यति ध्यान नदिने जसपा उसको माग ओलीले पूरा गर्ने मौखिक आश्वासन दिएमात्रै पनि सरकारमा जाने दाउमा छ । जसपा भित्रको पूर्व संघीय समाजवादी पार्टी ओलीसँग सहकार्य गर्ने पक्षमा नभएपनि पूर्व राजपा भने सत्तामा जाने पर्खाइमा छ ।

पछि हट्दै देउवा
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्था,र जसपामा दुई धार हुनु तथा उसको ढुलमुले व्यवहारले कांग्रेस सरकारमा जान पछि हट्दै छ । अझ मंगलबार विराटनगरमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षमै बस्ने भनेपछि ओलीलाई झन् राहत मिलेको छ ।

स्पष्ट बहुमत नभइ सरकारमा नजाने र ओली बिरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पक्षमा कांग्रेस छ । किनकी भोली ओली बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएमा जसपाले सघाउदैन कि भन्ने भय कांग्रेसमा छ । त्यसकारण पनि देउवा पछि हटेका हुन् । अर्काे कुरा देउवाले भित्रि रुपमा ओलीसंग केहि सहमति गरेका र त्यसकारण पनि कांग्रेस सरकारमा जान पछि हटेको कतिपयको आशंका छ ।

पार्टीमा प्रभाव जमाउँदै ओली
तत्कालीन नेकपामा अल्पमतमा परेका ओली अहिले पार्टीमा शक्तिशाली बन्दै गएका छन् । उनले नेकपाका नेताहरु माधव नेपाल र झलनाथ खनाल पक्षलाई पेलेर जान थालेका छन् । भने नेपाल र खनालसंग स्पष्टीकरण समेत सोधेका छन् । ओली पार्टी संसदीय दलमा बहुमतमा छन् ।

पार्टीभित्रको विरोधी शक्ति कमजोर भएको अवस्थामा ओली सत्तामा पनि प्रभाव जमाएर विरोधीलाई तह लगाउने दाउमा छन् । नेपाल– खनाल भने कमजोर बन्दै गएका छन् ।

संसदमा कसका सांसद कति ?
प्रतिनिधि सभामा अहिलेको गणितमा एमालेका १ सय २० कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चार जना एमालेतिर लागेका) र जनता समाजवादी पार्टी (जसपा)का ३४ (दुई जना निलम्बित) सांसद रहेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिने बित्तिकै ओली अल्पमतमा पर्नेछन् ।

ओलीलाई सत्ताबाट ओराल्न एमाले बाहेकका तीन दल मिले मात्रै संभव छ । राजनीतिमा चतुर खेलाडी मानिएका ओली विपक्षीलाइ रोकेर सत्ता लम्ब्याउने बाटोमा लागेका छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्