काठमाडौं,२८ चैत। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन ।
पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको आज आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले मुलुक र जनताविरोधी शक्तिले नेकपालाई खण्डित पारे पनि आफूहरुले एकताको झण्डा उठाइरहनुपर्ने उल्लेख गरे ।
पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै उनले भने , “समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक छ ।
अप्राकृतिक ढङ्गले विभाजित गरिएको पार्टी पुनः मिलन गराउनु जरुरी छ ।”दाहालले पार्टी एकता गरेर गल्ती नगरेको र एकता पनि आफूहरुले नटुटाएको स्पष्ट पारेका थिए । कार्यक्रममा कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।