काठमाडौं,४ बैसाख। कोभिड १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मुलुकका ठूला शहरी र कोभिड १९ फैलिएका स्थानमा वैशाख मसान्तसम्म वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
शनिबार बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रमा कोभिडको जोखिम बढ्दै गएकाले भौतिक रूपमा उपस्थित हुने गरी पठनपाठनमा रोक लगाउन सिफारिस गरेको हो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड १९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार बैठकमा धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ ।
सीसीएमसीको सिफारिस बमोजिम मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिनेछ ।