काठ्मान्डौ,१४ जेठ ।बाढीले ओखलढुंगा र मनाङमा गरेर दुइवटा पुल बगाएको छ । सुनकोसी नदीमा आएको बाढीले ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलापु र सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट जोड्ने मोटरेबल पुल बिहीबार बगाएको हो ।
करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा।लि। सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधबार मात्रै ढलान गरेको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने वेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो ।
निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुलीको फिक्कल गाउँपालिका– २ का वडाध्यक्ष शंकर भण्डारीले बताए । ‘वर्षाको समयमा सुनकोसीको बाढी सधैँ यस्तै हो क्षति गर्छ । वर्षा लाग्दालाग्दै पनि निर्माण कम्पनीले नदीको मूल बहावमा काम गरिरहेको थियो । हेर्दाहेर्दै बगायो,’ भण्डारीले भने, ‘दिगो विकास यहाँको आवश्यकता हो । यही क्षतिलाई देखाएर काम रोक्न वा अन्य बहाना गर्न पाइँदैन समयमै काम सक्न हामी ताकेता गर्छौँ ।’
त्यस्तै मनाङको बेंसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका– १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो । बिहीबार दिउँसो भीषण वर्षासँगै एक्कासि आएको बाढीले पुल बगाउँदा सडक अवरुद्ध बनेको तिमाङका स्थानीय यज्ञबहादुर घलेले बताए ।
पुल बगाएपछि मनाङबाट लमजुङ आउँदै गरेको र लमजुङबाट मनाङ जाँदै गरेका अत्यावश्यक सवारीसाधन अलपत्र परेका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बिहीबार दिउँसो ३ बजेतिर पुल बगाएको हो ।
उनका अनुसार तिमाङखोलाको अस्थायी काठे पुल र स्यार्कुखोलामा रहेको ह्युमपाइपसहितको काठेपुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए ।