स्वास्थ्य सम्बन्धीको मौलिक हक कागजी खोस्टा बन्यो सिटौलाको टिप्पणी

बिर्तामोट,८ असार ।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानमा उल्लेख गरिएको मौलिक हकअन्तर्गतको नागरिकको स्वास्थ्य सम्बन्धीको हक कागजी खोस्टा बनेको टिप्पणी गरेका छन् ।

उनले स्वास्थ्य नागरिकको जीवनसँग प्रत्यक्ष र महत्वपूर्ण विषय भएकाले संविधानमा मौलिक हक अन्तर्गत उल्लेख गरेको दाबी गरे । तर, सरकारले स्वास्थ्य संकटका बेला समेत नागरिकको स्वास्थ्यतर्फ ध्यान र चासो नदिँदा स्वास्थ्य सम्बन्धिको मौलिक हक संविधानमा कागजी खोस्टाको रुपमा मात्र उल्लेख हुन पुगेको धारणा राखे ।
मंगलबार गृहनगर झापाको भद्रपुरमा जिल्लाका १० वटा स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गर्दै सिटौलाले सरकार नागरिकको स्वास्थ्य सेवामा काम गर्नबाट चुकेको दाबी गरे । ‘हामीले लामो छलफल र महत्वपूर्ण विषयको रुपमा स्वास्थ्यलाई संविधानको मौलिक हकअन्तर्गत लेख्यौं । तर, सरकारले आज संविधानको त्यो व्यवस्थालाई अलिकति पनि कार्यान्वयन गरेन’ उनले भने,‘नागरिक कोभिडले चरम स्वास्थ्य संकटमा परेको बेला समेत राज्यले यतातर्फ नजरअन्दाज गर्‍यो ।’
पूर्व मन्त्री समेत रहेका सिटौलाले जसको नेतृत्वमा सरकार भएपनि अब, गरिब विपन्न जनताले सहजै हासिल गर्न सक्नेगरी स्वास्थ्य सेवा प्रदान गर्न नसके वर्तमान व्यवस्था नै संकटमा पर्ने धारणा राखे । ‘लामो संघर्षबाट प्राप्त मुलुकको अहिलेको व्यवस्था गरिब जनताको लागि हो । त्यसैले जो नेता जुन पदमा पुगेपनि आम जनताले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकेनन् भने यो व्यवस्थालाई टिकाउन सकिदैन’ उनले भने । उनले कोभिडले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै कामहरुबारे राम्रो ज्ञान दिएको बताए । ‘कोभिडले हामीलाई धेरै कुरा सिकाएको छ । अब, गाउँगाउँका स्वास्थ्य चौकीहरुको स्तरोन्नति नगरी नहुने अवस्थामा पुर्‍याएको छ’ नेता सिटौलाले भने,‘मुलुकको स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउन सरकार मात्र होइन, हामी सबै लाग्न जरुरी छ ।’

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्