काठमाडौं,२७ असार । यसअघि पनि लिओनल मेसी तीन पटक कोपा अमेरिका फाइनल खेलेका थिए । तीन पटक उपाधिको मुखैमा पुगेर टाढिए । फिफा विश्वकपको पनि एक पटक फाइनल खेले तर उपाधि जित्न सकेनन् ।
चार फाइनल अनि १६ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरमा मेसीले अर्जेन्टिनाको सिनियर टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते । विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७ औं संस्करणको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई उसैको मैदानमा १(० ले हराएर अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टनाले २८ वर्षदेखि उपाधि खडेरी तोड्दा ३४ वर्षीय मेसीले पनि राष्ट्रिय टिमबाट पहिलो उपाधि जिते । क्लब फुटबलमा सबैजसो उपाधि जितेका मेसीमाथि अर्जेन्टिनाका लागि कुनै उपाधि जित्न नसकेको आरोप लाग्दै आएको थियो ।
मेसी पनि पेले र डिएगो म्याराडोनाजस्तै महान् खेलाडीको सूचीमा छन् । २० औं शताब्दीमा ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनाले सनसनी मच्चाएका थिए । २१ औं शताब्दीमा मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सुपरस्टार खेलाडीका रुपमा छन् ।
रोनाल्डोले २०१६ मै पोर्चुगलका लागि युरोकप जिते । त्यसको पाँच वर्षपछि मेसीले अर्जेन्टिनाका लागि कोपा अमेरिका जिते । तर दुवैले विश्वकप जितेका छैनन् । उता पेले र म्याराडोनाले विश्वकप जिते तर कोपा अमेरिका जित्न सकेनन् । पेले त तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी समेत हुन् ।
मेसीको नाम पनि यी दुई महान् खेलाडीसँग तुलना हुँदै आएको छ । तर राष्ट्रिय टिमबाट ठूलो प्रतियोगिताको उपाधि जित्न नसकेको दाग उनीमाथि थियो ।
अर्को वर्ष कतारमा विश्वकप फुटबल हुँदैछ र मेसी त्यतिबेला ३६ वर्षका हुनेछन् । सम्भवतस् मेसीका लागि त्यो अन्तिम विश्वकप हुन सक्छ । मेसी सहभागी अर्जेन्टिनी टिम विश्वकपको फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन । २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित हुँदा मेसीले उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल अवार्ड जितेका थिए ।
तर अहिले जितेको कोपाले पनि उनको करियरलाई भने केही हदसम्म पूर्ण बनाएको छ । मेसीले कोपा उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्डसमेत जिते ।
डि मारियाको निर्णायक गोल
माराकाना स्टेडियममा अर्जेन्टिना र ब्राजिल कोपा अमेरिकाको उपाधि भिडन्तका लागि उत्रँदा एन्जल डि मारियाले पहिलो रोजाइमा खेल्ने अवसर पाए । यस प्रतियोगितामा उनी केवल दोस्रो पटक खेल शुरुवात गर्दै थिए ।
यसअघिका खेलहरुमा उनले बेन्चबाट मैदान प्रवेश गर्दै खेलेका थिए । फाइनलमा प्रशिक्षक लियोनल स्कोलानीको निर्णयलाई डि मारियाले सही सावित गरिदिए । उनै डि मारियाले २२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १(० ले पराजित गर्दै कोपा अमेरिका ट्रफी उचाल्यो ।
यो कति महत्वपूर्ण थियो भने अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जित्यो । सुपरस्टार लिओनल मेसीले राष्ट्रिय टिमबाट पहिलो ठूलो उपाधि जित्यो अनि अर्जेन्टिनाले लगातार फाइनल हार्ने खराब कीर्तिमानलाई पनि ब्रेक गर्यो ।
मेसीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । तर त्यो यू(२३ टिमले खेल्ने प्रतियोगिता थियो ।
सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिकमा स्वर्ण पदक जित्दा पनि फाइनलमा डि मारियाले नै एक मात्र गोल गरेका थिए । १३ वर्षपछि फेरि डि मारिया नै निर्णायक बन्दा अर्जेन्टिना उपाधि जित्न सफल भयो । मेसीसँगै डि मारिया र सर्जियो अगुएरोले पनि लामो समयपछि पहिलो सिनियर टिमबाट ट्रफी उचाल्ने मौका पाए ।