काठमाडौं,२३ साउन ।जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज चार लाख नेपाल आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि आईतबार चार लाख डोज खोप नेपाल आउने भएको हो।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पनि दुई चरणमा साउन २३ र २४ गते ८ लाख डोज खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता नेपाल आउने सम्भावना रहेको छ।
भुटानबाट पनि शुक्रबार २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ।
यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई लगाइने बताइएको छ। सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।
दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरिदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ।
सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको हो।