काठमडौं,२५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काको जर्सी नम्बर ७७ प्रयोग नगरिने भएको छ । पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले ७७ नम्बर जर्सी प्रयोग नगर्ने जनाएको छ ।
क्यानको कार्यान्वयन समितिले आइतबार पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो । उक्त समितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाअध्यक्ष रोशनकुमार सिंह, उपाध्यक्ष राजा बाबु श्रेष्ठ र सदस्य अमिरवीर पाण्डे रहेका छन् ।
पारसको सन्न्यासपछि जर्सी नम्बर ७७ खाली बनेको थियो । तर, क्यानले आगमी दिनमा पनि प्रयोगमा नल्याउने निर्णय गरेको हो । घरेलु क्रिकेट र उमेर समूहमा नेपाली क्रिकेटका युवा अलराउन्डर पवन सरार्फले ७७ रनको जर्सी लगाएका थिए । पारसको सन्न्यासपछि पवनलगायत अन्य युवा खेलाडीलाई सिनियर टोलीमा जर्सी नम्बर ७७ का लगि बाटो खुलेको थियो । तर, क्यानले ७७ नम्बर जर्सी आगमी दिनमा नेपाली क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको छ ।
यस्तै नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकका भारतीय राकेश कुमार काशीभाइ गोहिल (राकेश गोहिल)लाई नियुक्त गरेको छ । उनी राष्ट्रिय टोलीको सपोर्ट स्टाफसँग जोडिएर काम गर्नेछन् । राकेश ३८ जना प्रतिस्पर्धीबाट छानिएको क्यानले जनाएको छ । उनले अस्ट्रेलिया स्ट्रेन्थ तथा कन्डिसनिंग एसोसिएसनबाट लेभल टु पास गरेका छन् । उनीसँग भारतीय नेसनल क्रिकेट एकेडेमी र विभिन्न भारतीय रणजी ट्रफी खेल्ने टोलीसँग जोडिएर काम गरिसकेको अनुभव छ । उनको भूमिका खेलाडीको फिटनेस सुधारमा हुनेछ ।