काठ्मान्डौं,२७ साउन ।सरकारले विश्वविद्यालयका परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय भएको हो।
जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरी कोभिड– १९ विरुद्धको खोप एस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा दिने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो। विद्यार्थी संगठनहरूले विद्यार्थीलाई खोप दिन माग गर्दै आएका थिए। परीक्षार्थीबाहेक अन्य विद्यार्थीलाई पनि खोप दिएर पठनपाठन नियमित गर्नुपर्ने नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले बताए।