सल्यान,८ असोज । गत २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा पिसिआर विधिबाट एक हजार १०३ जनामा र एन्टेजिन विधिबाट ३७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार चौबिस घण्टामा एक हजार ५५० जना संक्रमित निको भएका छन् भने ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८१ जनाको मृत्यु भइरसकेको छ भने ७ लाख ५८ हजार ५०४ संक्रमित निको भएका छन् ।
हाल नेपालमा कोरोना निको हुने दर ९६।०३ प्रतिशत रहेको छ भने २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा एक लाख ७२ हजार ५९० जनालाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाइएको मन्त्रालयले जनाएको छ भने ५९ लाख ४६ हजार २२ जनाले पूर्ण भ्याक्सिन र ६३ लाख ८० हजार ५८६ जनाले पहिलो डोज खोप प्राप्त गरिसेका छन् ।
बितेको २४ घण्टामा काठमाडौँमा २५६ जना, कास्कीमा ११७ जना र झापामा ११४ जना संक्रमित थपिएका छन् ।
हाल नेपालमा मोरङ, झापा, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देहीमा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।