२ फागुन, काठमाडौं । सोमबार प्रणय दिवस । तेस्रो शताब्दीमा रोमन शासक क्लोडियसको पालामा भएको एउटा अभूतपूर्व प्रेमजोडीको सम्झनामा यो पर्व मनाउन थालिएको कथन छ । क्लोडियसको समयमा उनको मान्यता थियो, जब विवाह गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोषक गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’
तर सन्त भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध गरे । सन्त भ्यालेन्टाइनले सबैलाई विवाह गर्न उक्साए । जागरुक गराए । यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे ।
जब क्लोडियसलाई सन्त भ्यालेन्टाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरेको थाहा भयो, तब भ्यालेन्टाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।
आखिरमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिने फैसला क्लोडियसले सुनाए । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेमपत्र लेखे । त्यसको मुनि उनले लेखेका थिए, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी दृष्टिविहीन छोरीलाई दिनू ।’ राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिए । यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरे भन्ने कथन छ ।
यसरी प्रेमको विषयमा फाँसीको सजाय पाएका भ्यालेन्टाइनको चर्चा धेरै भएपनि त्यसपछिको कालखण्डमा धेरै प्रेमीप्रेमीकाहरुको नाम प्रेमिल जोडीको रुपमा जोडिने गर्छ । केही जोडीको नाम तल चर्चा गरिएको छ ।
राजकुमार इडवार्ड र वालिस
राजकुमार इडवार्ड र वालिस पनि प्रेमको लागि राजगद्दीसम्म त्याग्ने अर्का उदाहरणीय पात्र हुन् । इडवार्ड वेल्सका राजकुमार थिए भने वालिस अमेरिकी महिला थिइन् । उनीहरुको भेट एउटा पार्टीमा भएको थियो । सोही समयदेखि उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको थियो । त्यतिबेला वेल्सको नियमअनुसार विदेशी महिलासँग त्यहाँका राजकुमारहरुले विवाह गर्न अनुमति थिएन । तर उनले गरे । यसले उनीहरुको राज्य संयन्त्रमा ठूलो हलचल ल्यायो । उनको बुबाको निधन भएपछि उनी राजगद्दीमा बसे । तर त्यहाँ कि वालिसलाई रोज्न या त राजगद्दीमध्ये एक रोज्न भनियो । अन्तमा उनले प्रेमको लागि राजगद्दी त्यागे ।
एन्टोनी र क्लियोपेट्रा
यो इजिप्टकी रानी क्लियोपेट्रासँग जोडिएको प्रेमजोडीबीचको समर्पणको नमुना हो । यो इसापूर्व अन्तिम शताब्दीको घटना हो । सुन्दरी क्लियोपेट्राको रोमका राजा जुलियस सिजरसँग प्रेम सम्बन्ध थियो । उनीहरुको प्रेम सम्बन्ध गहिरिँदै जाँदा सिजरको हत्या भयो । उनको मृत्युबाट क्लियोपेट्रा विक्षिप्त भइन् । सिजरको हत्यापछि रोममा मार्क एन्टोनी नामका व्यक्ति हाबी भए । इजिप्टकी रानी क्लियोपेट्राको सुन्दरताको बारेमा जानेका एन्टोनीले उनलाई रोम भ्रमणको लागि निम्तो दिए । उनीहरु भेट हुँदा एन्टोनीले क्लियोपेट्रालाई मन पराए । मन मात्रै पराएनन्, उनको प्रेममा यति पागल भए कि रोम छाडेर उनी इजिप्ट नै गए ।
आफ्नी पहिली श्रीमती छाडेर उनी देश छाडेर गएको देखेपछि उनका जेठान अक्टाभियनले इजिप्ट विरुद्ध नै युद्ध घोषणा गरेका थिए । युद्धपछि एन्टोनी र क्लियोपेट्रा दुवैलाई पक्राउ गरियो । एन्टोनीलाई उनकी प्रेमिकाको मृत्यु भइसकेको खबर सुनाइयो । त्यो खबर सुनेपछि एन्टोनीले आत्महत्या गरे । प्रेमीको देहान्तबाट छट्पटिएकी क्लियोपेट्राले कुनै व्यक्तिमार्फत जेलमा विषालु सर्प मगाएर आत्महत्या गरिन् ।
भोल्तेयर र इमिली
चर्चित फ्रान्सेली दार्शनिक तथा लेखक भोल्तेयरको बारेमा धेरै परिचित छन् । उनको साहित्य र दर्शन जति चर्चित छ, उनको प्रेम जीवन पनि त्यस्तै चर्चित छ । उनको फ्रान्सकै सामाजिक कार्यकर्ता इमिलीसँग प्रेम बस्यो । इमिली विवाहिता थिइन् । तर पनि भोल्तेयरसँग उनको गहिरो प्रेम थियो । बौद्धिक एवं दार्शनिक प्रेमका लागि विश्वभर चर्चित यो जोडीको प्रेम सम्बन्धको १९ औं वर्षमा इमिलीको निधनसँगै पूर्णविराम लाग्यो । तर उनीहरुको प्रेम चर्चा भने विश्वभर उदाहरणीय मानिन्छ ।
जार निकोलस द्वितीय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
एउटी प्रेमिका वा रानीको प्रेममा परेर कतिसम्म एकोहोरो बन्छन् भन्ने उदाहरण हुन् जार निकोलस द्वितीय । उनी राजकुमार हुँदै अलेक्जेन्ड्रा फेडेरोभ्नासँग मायाजालमा फसे । उनीहरूबीच गहिरो प्रेम बस्दै गयो । १९ औं शताब्दीको अन्तिममा निकोलसका बुबाको निधन भयो । उनी सत्तामा आए । उनले अलेक्जेन्ड्रासँग विवाह पनि गरे ।
विवाहपछि झनै उनी अलेक्जेन्ड्रासँग यति एकोहोरो भए कि उनले जनताको बारेमा केही नसोचेको भन्दै उनी विरुद्ध असन्तुष्टि बढ्दै गयो । विस्तारै विद्रोह बढ्दै गएर त्यहाँको सत्ता ढल्यो । तर उनको रानीप्रतिको एकोहोरोपनामा कम भएन । उनीहरु साइबेरिया भागे । पछि साइबेरियामै उनीहरुको हत्या भयो ।
अनलाइन खबरबाट साभार गरिएको