काठ्मान्डौं,२८ असार ।बासिर अहमदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको खेलमा नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध जितका लागि २२१ रनको लक्ष्य पाएको छ ।
स्कटल्यान्डको कम्बस्डन न्यु ग्राउन्डमा नामिबियाका कप्तान गेहार्ड इरसमसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको नामिबियाले ४७।३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको हो ।
नामिबियाका लागि जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ६० रन बनाए । उनले ६९ बलमा ५ चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर डिबान ला ककले ४१ रन बनाए भने कप्तान इरसमसले २२ रन जोडे । अर्का ओपनर लो–हान्ड्रे औरेन्स र डेबिड विसेले समान १८ रन बनाए । जेजे स्मितले १७ रन बनाएर पवेलियन फर्किए ।
नेपालका लागि कप्तान सन्दीपले १० ओभरमा ५४ रन दिएर ४ विकेट लिए । सोमपाल कामीले २ विकेट लिँदा करण केसी, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
योसँगै नेपालका बासिरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युलाई सुखद बनाएका छन् । उनले ७।३ ओभरमा १८ रन दिएर १ विकेट लिएका हुन् ।