काठ्मान्डौं,२६ असोज ।सत्ता गठबन्धन दलहरुको बैठकले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवारविरुध्द उम्मेदवारी दिएकाहरूलाई आज दिउँसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ ।
महासचिव डा.बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा बागी उम्मेदवारी दिएका आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई नाम फिर्ता लिन भनिएको छ ।
विज्ञप्तिमा लेखिएको छ,‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरित उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरूलाई निर्धारित समय २०७९ असोज २६ गते दिउँसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन गरिन्छ । पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा कारबाही हुने व्यहोरा पनि जानकारी गराइन्छ ।’