काठमाण्डैं, ५ पुष ।कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो । दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने वाध्यता छ।
कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ । कारागार जुम्लामा अनुसार यो समस्या अहिलेको होइन,१२ वर्षदेखि हो। कैदीले पहिले देखि बगिरहेको तिला नदीको पानी पिइरहेका छन् । २ सय कैदी बन्दीको क्षमता रहेको जुम्ला कारागारमा १ सय १० जना कैदीहरु छन् । जसमध्ये १ सय ८ पुरुष र २ महिला हुन् ।
कैदीबन्दीको लागि एउटा मात्र धारा छ, त्यो पनि नियमित आउँदैन, नियमित पानी नआउँदा सरसफाइका क्रियाकलापमा कमी आउने गरेको जेलर बिष्णुबहादुर महतले जानकारी दिए । उनले भने संचालनमा रहेको धारामा नियमित पानी नआएकै कारण समस्या छ । साँझ र बिहान गरी २ घण्टा मात्रै धारामा पानी आउँछ । यहाँ दैनिक १० हजार लिटर पानीको जरुरत छ ।
२ घण्टा आउने पानीले समस्या समाधान नहुने भन्दै जेलर महतले नियमित पानी आए मात्रै यो समस्या हट्ने बताए । उनका अनुसार अपुग पानी जेनेरेटर मार्फत तिला नदीबाट तान्छौ । अहिले कारागारमा पानीको संकट परेको छ । जेनतेन अहिले थुनवा र कैदीलाई आवश्यक पर्ने पानीको बन्दोबस्त गरिएको कारागार जुम्लाले जनाएको छ ।