सुर्खेत, ८ पुष | भेरीगंगा नगरपालिका क्षेत्रमा रहेका व्यापारीले व्यवसायी दर्ता नगरी फलफुल तथा तरकारी विक्री गरेको पाइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर, जिल्ला उपभोक्ता हित संरक्षण मञ्च, गुणस्तर तथा नाप तौल र भेरीगंगा नगरपालिकाको संयुक्त टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा व्यापारीहरुले व्यवसाय दर्ता नगरी फलफुल तथा तरकारी विक्री गरेको भेटाएको हो ।
भेरीगंगा ४ हर्रे र कालीदमारमा गरिएको अनुगमनमा व्यवसाय दर्ता नगरी फलफुल तथा तरकारी विक्री गरेका व्यवसायलाई पन्ध्र दिन भित्र व्यवसाय दर्ता गर्न अनुरोध गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सातौँ अधिकृत तथा बजार अनुगमन टोलीका संयोजक माधब प्रसाद न्यौपानेले जानकारी दिए ।उनले अनुगमनका क्रममा अधिकाँश व्यवसायीहरुले व्यवसाय दर्ता नगरी फलफुल तथा तरकारी विक्री गरिरहेको भेटिएको बताए ।‘पसलहरुमा अनिवार्य मुल्य सुचि समेत नराखेको पाइयो’ न्यौपनेले भने, ‘तत्काल मुल्य सूचि राख्न निर्देशन दिएको बताए ।’उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तिव्र पारिएको पनि न्यौपानेको भनाई छ ।
हर्रे र तालबारीमा गरी २१ वटा पसलको अनुगमन गर्दा ६ वटा दर्ता भएका र १५ वटा पसल दर्ता नभई सञ्चालन भएको पाइएको भेरीगंगा नगरपालिका उद्योग तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गीले बताईन । अनुगमनमा फलफुल तथा तरकारी पसल,होटल, फर्निचर उद्योग, औषधी पसल,खुद्रा तथा किराना पसल, मदिरा तथा पेय पसल लगायत अनुगमन गर्दा दर्ता नभएको, मुल्य सुची नभएको,नाप तौल नभएको, साइन बोर्ड नभएको साथै एक दर्ता भई अरु नै ब्यापार गर्ने गरेका पसलहरु भेटिएका थिए । अनुगमन गर्दा पसलहरुको कमी कमजोरी छिटै सुधार गर्न अनुरोध गदै आगामी दिनमा नसुधारे कडा कारबाही गरिने चेतावनी दिईएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दिप प्रसाद ज्ञवालीले बताए ।
सो अनुगमनमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सातौँ अधिकृत तथा बजार अनुगमन टोलीका संयोजक माधव प्रसाद न्यौपाने, उद्योग तथा उपभोक्ता हित निर्देशनालयका प्रयाग राज शर्मा, जिल्ला प्रशासन कार्यालयका नासु दिप प्रसाद ज्ञवाली, खाद्य गुणस्तर कार्यालयका प्रतिनिधि, जिल्ला उपभोक्ता हित संरक्षण मञ्चकी संयोजक भिम कुमारी भुषाल गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि,भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गी, पत्रकार लगायत सुरक्षाकर्मी समेत उपस्थिती रहेको थियो ।