सल्यान,१३ पुष ।सल्यानमा १० दिन सम्म चल्ने महोत्सव आजदेखि सुरु भएको छ । विभिन्न सांस्कृतिक झाँकीहरुको र्याली सहित आज महोत्सवको उद्घाटन भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको दिन आज सल्यानका विभिन्न मौलिक नाचहरु (मयुर, बनगाडी टप्पा, पैसेरू)को झाँकी प्रदर्शनी सहित महोत्सवको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रकाश सिंहले यो महोत्सवले समग्र सल्यान र कर्णालीको कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरुको बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भुमिका हुने बताए । उनले कला सांस्कृति र घरेलु उत्पादित बस्तुहरुको प्रवर्द्धन गर्न पनि सबैलाइ आग्रह गरेका छन् ।
कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुन, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य लगायत विभिन्न संघ संस्था तथा कार्यालयका प्रमुखहरुले मन्तव्य राखेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम डाँगीको सभाअध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सुमननाथ योगीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन भने महासचिव मनबिर बस्नेतले गरेका थिए ।कार्यक्रमको दोस्रो दिन १४ गते चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जिएमको प्रस्तुती रहने आयोजकले जनाएको छ ।