औपचारिक समारोहमा राष्ट्रपतिको सामान्य सवारी

काठमाडौं, ७ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक समारोहमा सामान्य शैलीको सवारी प्रयोग गरेका छन् ।

गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो । तर, मंगलबार भएको राष्ट्रपति पौडेलको औपचारिक समारोहमा चार वटा सवारी साधन प्रयोग भएको छ ।

मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरे । जबकि, कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कार देखि पछाडि रहने राष्ट्रपतिको गाडीको दायाँ बायाँसहित ३र३ गरी ६ वटा आउट राइडर्स हुने व्यवस्था छ ।

त्यसको पछाडि अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षण पछुवा कार, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जिप र प्रहरी पछुवा मोटरसाइकलसहित सवारी साधन हुने व्यवस्था छ ।

तर पौडेलको मंगलबारका सवारीमा एउटा अगुवा, त्यसपछि क्रमशः आफ्नो गाडी, पछुवा र जगेडा गाडी प्रयोग गरेको देखिएको छ । पौडेल शीतल निवासबाट टुँडिखेलस्थित सैनिक मञ्च आउँदा सडक पनि पूरा खाली गराइएको थिएन ।

सैनिक मञ्चको कार्यक्रम सकिएर राष्ट्रपति बाहिरिँदा केही बेर मात्र सडक खाली गराइएको थियो । उनको सवारी अगाडि बढेपछि अन्य सवारी साधनलाई आवतजावत गर्न दिइएको थियो । राष्ट्रपति पौडेलको सवारी अघि राष्ट्रपति कार्यालयले यसको व्यवस्थापनका लागि गृह मन्त्रालय सँग परामर्श गरेको थियो ।

विगतमा राष्ट्रपतिको सवारी निकै तामझामपूर्ण भएको र सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको भन्दै आलोचना हुने गरेको थियो ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार राष्ट्रपति दैनिक कार्यलय जाँदा समेत मंगलबारको सवारीभन्दा एउटा कार र मोटरसाइकल बढी प्रयोग गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भीआईपी सुरक्षा कार्यविधि समेत परिवर्तन गर्न लागिएको बरलाई बताए ।

‘यो कार्यविधि संशोधन गर्नका लागि प्रस्ताव गरिए बमोजिम भएको सवारी हो’, उनले भने, ‘उपत्यकाभित्रको आवगमनलाई असर नपर्ने गरी सवारी सहज बनाउने गरी संशोधन गर्ने प्रस्ताव गरेका छौं ।’

यद्यपि, पहिले भएको व्यवस्था पनि नहटाइने उनले बताए । ‘कतिपय राजकीय भ्रमण वा विदेशी पाहुना आउँदा आवश्यक पर्न सक्छ, त्यसैले अरु व्यवस्था पनि यथावत राखेर कतिपयमा घटाउन सक्ने प्रावधान राख्न लागेका छौं’, बस्नेतले भने ।

यस अघि गत शनिबार राष्ट्रपति पौडेल बसन्तपुरस्थित कुमारी घर जाँदा पनि सडक खाली नगराई गएका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्