काठमाडौँ,३१ असार । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्ण रूपमा चलायमान बनाउनका लागि रु एक अर्ब २५ करोड बराबरभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आगामी वर्षका लागि करिब रु एक अर्ब २५ करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरिएको र उक्त बजेटमध्ये झन्डै ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा खर्च योजना रहेका बताएका हुन। बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ ।