बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय महिला फुटबल सीरीजमा नेपालको जित

ढाका,१ साउन ।नेपालले बंगलादेशविरुद्धको दुई खेलको अन्तर्राष्ट्रिय महिला फुटबल सीरीज जितेको छ । दोस्रो खेलमा आइतबार बंगलादेशलाई टाइब्रेकरमा हराउँदै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा सम्पन्न खेलमा टाइब्रेकरमा नेपाल चार–दुई गोल अन्तरले विजयी भयो । यसअघि पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नेपाली गोलरक्षक अञ्जना रानामगरले दुई पेनाल्टी प्रहार जोगाएपछि खेल नेपालले जितेको हो ।

अञ्जना ९०औँ मिनेटमा नियमित गोलरक्षक तथा कप्तान एञ्जिला तुम्बापो सुब्बाको स्थानमा वैकल्पिक गोलरक्षकका रूपमा मैदान प्रवेश गरेकी थिइन् ।

टाइब्रेकरका सुरुवाती दुई प्रहारमा नेपालका लागि सावित्रा भण्डारी र हिरा भुजेलले गोल गरेका थिए ।

बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहारलाई गोलमा परिणत गरिन्, तर नेपाली गोलरक्षक अञ्जना राना मगरले शेउली जीमको दोस्रो प्रहारलाई विफल पारिन् ।

नेपालका लागि अञ्जना राना मगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल भएन । लगत्तै उनले मारिया मान्डाको प्रहारलाई विफल पारिन् । दिपा शाहीले नेपालका लागि चौथो प्रहारमा गोल गर्दा बंगलादेशका लागि मोनिका चक्माले पनि चौथो प्रहारमा गोल गरिन् । अनिता केसीले पाँचौं प्रहारमा गोल गर्दै नेपालको जीत सुनिश्चित गरिन् ।

योसंगै नेपालले गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग व्यहोरेको तीन–एक गोल अन्तरको पराजयको बदला लिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्