तिहारमा ३५ लाख सयपत्री माला खपत हुने

काठमाडौँ, १९ कात्तिक । यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । 

गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका छन् । सरकारले पुष्पजन्य उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण यसपालि मालाको मूल्य समेत बढ्ने भएको छ । 

तिहारमा लक्ष्मी पूजा, घरआँगन सजाउने देखि भाइटीकामा लगाउनका लागि सयपत्रीको माला धेरै प्रयोग हुन्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीन बहादुर तामाङले यस वर्ष ८० प्रतिशत स्थानीय उत्पादनले बजार माग धान्ने र २० प्रतिशत आयात गर्नु पर्ने अवस्था रहेको बताए। 

फूलमा भ्याट लगाएका कारण यसपालि मालाको मूल्य बढ्ने उनको भनाइ छ । सयपत्री फूलको आयात गर्न प्रक्रिया पूरा गर्नु पर्ने हुँदा यस पटक व्यवसायीलाई माला आयात गर्न कठिन हुने उनले बताए । उनका अनुसार बजारमा प्रतिगोटा सयपत्री मालाको थोक मूल्य प्रतिमाला ७५ र खुद्रा मूल्य १२५ रुपियाँ पुग्ने छ । 

गत वर्ष मालाको मूल्य प्रतिगोटा ५० देखि एक सय रुपियाँ सम्म थियो । यस वर्ष मखमलीको मालाको मूल्य थोकमा ४५ रुपियाँ र खुद्रामा ६० देखि ७० रुपियाँ पर्ने तामाङले जानकारी दिए। उनका अनुसार मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सय रुपियाँ सम्म पर्ने देखिएको छ । 

गोदावरी फूलको माला भने एक हजार देखि तीन हजार रुपियाँ सम्म पर्ने एसोसिएसनले अनुमान छ । फ्यानका अनुसार गत वर्ष नौ लाख सयपत्रीका माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाख मात्र माला ल्याउन लागिएको छ ।

फ्यानका अनुसार पछिल्लो समय बजारमा फूलको माग वृद्धि सँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ लगायत ४८ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३३ प्रतिशतले फूलको कारोबार वृद्धि भएर तीन अर्ब सात करोड पुगेको छ । सो अवधिमा मुलुक बाट ६८ अर्ब १८ लाख रुपियाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात हुँदा ३३ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्