सल्यान, कात्तिक २१ गते । सल्यानमा भूकम्पबाट पाँच सय २६ घर क्षतिग्रस्त भएका छन्। गत शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट सल्यानमा पनि सयौँ घर क्षतिग्रस्त भएका हुन् । ९५ घर पूर्ण, २५६ आंशिक र १७२ घर सामान्य क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ। कार्यालयका अनुसार सबै भन्दा बढी दार्मा गाउँपालिकाका ३९८ घरमा क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले दार्मामा ९३ वटा पूर्ण, २३६ आंशिक र ६८ घरमा सामान्य क्षति पुगेको बताउनु भयो । उहाँका अनुसार क्षतिको विवरण सङ्कलन भइ रहेको र क्षतिको विवरण बढ्न सक्नेछ ।
बागचौर नगरपालिकामा २६, बनगाड कुपिन्डे नगरपालिकामा ५२, कपुरकोट गाउँपालिकामा २६, सिद्ध कुमाख गाउँपालिकामा २०, शारदा नगरपालिकामा ३, त्रिवेणी गाउँपालिकामा १ घरमा क्षति पुगेको छ ।
भूकम्पले क्षति पुगेपछि पीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन्। पीडितले जाजरकोट र रुकुम पश्चिममा केन्द्रित भएको तर आफूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ। दार्मा गाउँपालिका २ लिरापाजाका बहादुर दमाईले आफूहरू खुल्ला चौरमा बस्नु परेको बताउनुभयो ।
मानवीय क्षति नभए पनि रुकुम र जाजरकोट बराबर भौतिक क्षति भएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले दार्माका धेरै बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भएको र पालिकाको स्रोतले राहत वितरण गरि रहेको बताउनु भयो । उहाँका अनुसार पालिकाले आफ्नै स्रोत साधनले मात्र थेग्न सक्ने अवस्था छैन ।