शिक्षासेवी मोहनसिंह थापाबारे स्मृति ग्रन्थ प्रकाशन हुने



सल्यान,९ बैसाख ।सल्यानमा लामो समय शिक्षण र प्राध्यापन गरेका स्वर्गीय मोहनसिंह थापाबारे स्मृतिग्रन्थ प्रकाशन हुने भएको छ ।
सल्यानको थापागाउँमा जन्मी हुर्की सल्यानलाई नै कर्मथलो बनाएका थापाले सल्यानको पहिलो विद्यालय त्रिभुवन जन मावि लुहापिङ र सल्यान बहुमुखी क्याम्पसमा लामो समय अध्यापन गर्नुभएको थियो ।
पछि एमएम एकेडेमी स्थापना गरेर सुलभ शुल्कमा विद्यालय सञ्चालन गरेका थापा विशेष गरी गणित विषयमा पोख्त रहेकाले विद्यार्थीमाझ नै लोकप्रिय हनुहुन्थ्यो। उहाँको घरमा पुगेर उहाँसित अतिरिक्त कक्षा लिने थुप्रै विद्यार्थीले उहाँलाई सरल, सादगी, निःस्वार्थी, विनम्र गुरुका रुपमा सम्झिन्छन् ।
शुल्क पनि नलिई घरमा आफ्ना विद्यार्थी पढाइरहने थापा आजीवन अविवाहित रहनुभयो । ज्ञान बाँड्नुमै उहाँले आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नुभयो ।
थापा झट्ट हेर्दा अन्तर्मुखी तर भित्र मनदेखि अति नै कोमल र दयालु रहेको उहाँसित विद्यालयमा गणित र लेखा अनि क्याम्पसमा अर्थशास्त्र पढेका तथा पछि थापाले नै खोलेको एमएम एकेडेमीमा शिक्षकका रुपमा तीन वर्ष सहकार्य गरेका विमल आचार्य बताउँछन् ।
‘मोहन सरको त्यही सादगीपनबाट अति नै प्रभावित भएर मैले सरबारे लेख लेखेर नागरिक दैनिकमा छपाएँ तर सरलाई देखाउनै नपाई दुई महिनापछि सर बितिहाल्नुभयो,’ आचार्य भन्छन्, ‘उहाँबारे स्मृतिग्रन्थ प्रकाशन गर्न उहाँका भाइ भूपेन्द्रसिंह थापा र उहाँका विद्यार्थी प्रवीण भण्डारी लगायतका साथीहरू स्वतःस्फूर्त रुपमा लागिपरेको देखेर मलाई खुसी लागेको छ ।’
थापाको दसौँ स्मृति दिवसको सन्दर्भ पारी यही जेठ २४ गते सल्यानमा स्मृतिग्रन्थ प्रकाशन गर्ने संयोजक भूपेन्द्रसिंह थापाको भनाइ छ । यसका लागि शिक्षक थापाका विद्यार्थी, शिक्षक तथा उहाँलाई चिन्ने सबैसित लेखरचना आह्वान गरिएको छ ।
राप्ती साहित्य परिषद् सल्यान शाखाका पूर्वअध्यक्ष समेत रहेका स्मृति ग्रन्थका सम्पादक प्रवीण भण्डारीले बताए अनुसार शिक्षक थापाबारेका लेखरचना वैशाख ३१ गते सोमबार साँझ ५ बजेसम्म आइपुग्नुपर्नेछ ।स्मृति अभिव्यक्तिका विभिन्न विधा निबन्ध, कविता, गीत, गजल, कथा, चित्र आदिमा आफ्नो सानो परिचय र तस्बिर mohansirsalyan@gmail.com मा पठाउनुपर्नेछ ।
‘इतिहास नेताहरु र पैसावालहरुको मात्र हुँदैन, सामान्य जनता सबैको हुन्छ, अझ त्यसमा पनि निःस्वार्थ रुपले शिक्षाको सेवा गर्नेहरुको सम्मान हुनुपर्छ,’ सम्पादक भण्डारी भन्छन्, ‘आदर्शहरुको मृत्यु भइरहेको समयमा हामीबीच यस्ता पनि महान् व्यक्तित्व थिए भनेर हामीले हाम्रो आँगनका आदर्शको जीवनकथा भावी पिँढीका लागि सुरक्षित राख्नुपर्छ ।’

                     
खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्