काठमाडौँ, १० श्रावन । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको हत्या आरोपित सांसद बादसाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले मन्त्री बनाउने निर्णय गरेको प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले गम्भीर आपत्ति जनाएको छ । यस्तो विवादमा आएको व्यक्तिलाई मन्त्री जस्तो गरिमामय पदमा भएको नियुक्ति तुरुन्तै फिर्ता गरी आरोपितलाई तत्काल पदबाट हटाउनका लागि ओरेकले माग गरेको हो ।
कुनै पनि बहानामा यस्ता अक्षम्य त्रुटिहरू नसच्याइएमा सम्पूर्ण मानव अधिकारकर्मीहरू एकजुट भई यसको विरुद्धमा सडकमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । हत्याका मुख्य आरोपी रहेका कुर्मीलाई लुम्बिनी प्रदेश मन्त्रीमा नियुक्त गरिनु महिला माथि हुने जघन्य अपराधको घटनालाई राज्यले कसरी सरलीकरण गर्छ र हिंसाका आरोपितहरूलाई कसरी संरचनागत संरक्षण गरिन्छ भन्ने यो ज्वलन्त उदाहरण भएको केन्द्रले जनाएको छ ।