बुटवल, २० श्रावन । सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा ३३ लाख बराबरको मोबाइल बरामद गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएको गस्ती टोलीले आज ८८ थान मोबाइल बरामद गरेको हो । भारतीय मोटरसाइकलमा चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी तथा डिएसपी यज्ञमान साउदले जानकारी दिनुभयो ।
बरामद गरिएका मोबाइलमा ४० थान आईफोन र ४८ थान पोको नामक मोबाइल रहेका छन् । बरामद भएका मोबाइलको मूल्य ३२ लाख ७० हजार रहेको छ । बरामद मोबाइल र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ । कारोबारमा संलग्न व्यक्ति भने झोलासहितको मोटरसाइकल छाडेर भागेका छन् ।