काठमाण्डौं, २० श्रावन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देखावटीका लागि मात्रै कुनै पनि काम नगर्ने बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूहरूले देखावटीका लागि मात्रै कुनै पनि काम नगर्ने बताउनु भएको हो । ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले सरकार र सत्तारूढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताउनु भयो ।
उहाँले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू देशमा क्रियाशील रहेको भन्दै एमालेले भ्रमलाई चिर्ने गरी नागरिकलाई सचेत गराउनुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी स्वीकार्यताका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभएको छ ।