काठमाडौँ, २१ साउन । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिनुभएको बिबिसिले जनाएको छ । राजीनामा दिएसँगै उहाँले देश छाड्नुभएको छ । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेको बङ्गलादेशबाट प्रकाशन हुने ढाका ट्रिबुनमा समाचार छ ।
सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाका तर्फ र्याली गरिरहेका छन् । यसैबिच बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने एएफपीले जानकारी दिएको छ ।आइतबार देखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ । ढाकाको मोहाली क्षेत्रमा उपस्थित बीबीसी बंगलाका संवाददाताका अनुसार हजारौं मानिस पैदल र रिक्सामा शाहबागतर्फ लागेका छन् ।
यद्यपी, गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।