काठमाण्डौ,२६ साउन। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले २०० भन्दा बढी संक्रमित (केस) देखिएका जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न पूर्णत: रोक लगाउन सिफारिस गरेको छ ।
केन्द्रको आइतबार सिंहदरबारमा बसेको बैठकले काठमाडौं उपत्यकाका तीनवटा जिल्लाभित्र आवतजावत गर्ने बाहेक कोभिड–१९ को सङ्क्रणको सक्रिय केस दुईसय भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा आवतजावत पूर्णतः बन्द गर्न सिफारिस गरेको हो ।
त्यस्तै फुटपाथ, खुलाठाउँ र ठेलागाडा, साइकलमा फलफूल तरकारीलगायत उपभोग्य बस्तु बिक्री वितरण गर्ने कार्य पनि पूर्णरूपमा रोक्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । आज बस्ने मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव पेस हुने छ । र, आवश्यक निर्णय हुने ती मन्त्रीको भनाइ छ ।
काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा रेस्टुराँ, होटल आदि व्यवसाय सञ्चालन भइसकेका छन् । यसलाई तत्काल रोकी टेक अवे (रेस्टुरेन्टमा प्याकिङ गरेर अन्यत्र लगेर उपभोग गर्ने) बाहेकका सम्पूर्ण सेवामा रोक लगाउन पनि केन्द्रले सिफारिस गरेको छ । यसबाट सङ्क्रमणको जोखिम बढेको केन्द्रको ठहर छ । भारतबाट स्थलमार्ग भएर नेपाल भित्रने नागरिकका लागि हाल २० वटा नाका तय गरिएकोमा त्यसलाई घटाएर १० मा झार्न पनि केन्द्रले सिफारिस गरेको छ ।
“भारतबाट आउने नेपालीका लागि हाल प्रवेश भइरहेको सङ्ख्याको आधारमा तोकिएका प्रवेश विन्दु घटाइ १० वटा कायम गर्न, नयाँ प्रवेश विन्दु तोकिएका ठाउँबाट बाहेक अन्य नाकाबाट मानिसका आवागमनलाई पूर्णतः निषेध गर्न सिफारिस गरिएको छ । कोभिड–१९ को संक्रमण वृद्धि भइरहेको सन्दर्भमा सक्रिय केसहरूको विश्लेषण गरी लक्षण नभएका संक्रमितहरूलाई राख्न आवश्यक बेड सङ्ख्याका आइसोलेसन सेन्टर तयार पार्न केन्द्रले निर्देशन दिएको छ । लक्षण भएका संक्रमितहरूलाई उपचार गर्ने प्रयोजनका लागि निजी अस्पताल तथा मेडिकल कलेजलाई समेत प्रयोग गरी थप व्यवस्थित गर्ने र यसको समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ,” निर्णयको जानकारी गराउँदै एक मन्त्रीले भने ।
केन्द्रले कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन धार्मिक, सांस्कृति पर्व जात्रा, पूजापाठ आदिमा रोक लगाउन सिफारिस गरेको छ । मठ आदि धार्मिक ठाउँमा नित्य पूजामा भने रोक नलगाउन र सामजिक दूरी कायम गरेर निरन्तरता दिन सिफारिस गरेको छ ।