सल्यान,२७ साउन । सल्यानबाट गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न १० प्रजातिका १ लाख बढी किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ । जिल्लाका विभिन्न राष्ट्रिय वनबाट संकलन गरिएका १ लाख ८ हजार ७ सय ८३ किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाबाट ४० हजार किलो तेजपात, ८ हजार किलो लेक पांग्रा, ४ हजार ४ किलो चुत्राको बोक्रा, ४ हजार २ सय किलो पाखनवेद, ४४ हजार किलो झ्याउ, २ हजार ८ सय ३३ किलो काउलोको बोक्रा, १ हजार ६ सय ५० किलो दालचिनी बोक्रा, २ सय किलो गोकुल धुप, ३ हजार किलो रिठ्ठा र ३ हजार किलो विषफेज निकासी भएको डिभिजन वन कार्यालय सल्यानका सूभना अधिकारी देवीराम सुवेदीले जानकारी दिनु भयो । १ लाख किलो बढी जडिबुटी निकासी हुँदा २५ लाख ६७ हजार ३ सय ९० रुपैयाँ राजस्व संकलन भएको सुवेदीले बताउनु भयो ।