तुलसीपुर,३२ श्रावन । दाङको शान्तिनगरमा मकैमा डाँठ कुहिने रोग र फौजी किरा देखापरेपछि किसानहरु चिन्तित भएका छन् । मकैमा यस्तो समस्या देखा परेपछि विगतका वर्षहरु जस्तो मकै बालीबाट क्षति बेहोर्नु पर्ने भन्दै किसानहरु चिन्तित भएका हुन् । छिटफुट रुपमा शान्तिनगरका सबै क्षेत्रका किसानहरुको बालीमा यस्तो समस्या देखिएको कृषि शाखाका प्रमुख यमकान्त पाण्डेले जानकारी दिनुभयो । शान्तिनगरमा यसवर्ष मात्रै नभएर विगत केही वर्षदेखि नै मकैमा डाँठ कुहिने रोग लागिरहेको उहाँले बताउनु भयो ।‘कति क्षेत्रफल भन्ने एकिन गर्न सकिने अवस्था छैन तर सात वटै वडामा देखिएको छ’ पाण्डेले भन्नुभयो । प्रत्येक वर्ष यस रोगले सताउने भएकाले किसानलाई बाली प्रणाली फेर्न आग्रह गर्दा पनि नमानेको उहाँको भनाइ छ । यस रोगबाट मकै बालीमा धेरै क्षति हुने भएकाले मकै छर्नु भन्दा पहिले नै सावधानी अपनाउनु पर्ने हुँदा किसानहरुलाई आफूहरुले बारम्बार आग्रह गर्दा पनि आफूले दिएको सल्लाह सुझावलाई वेवास्ता गरिरहेको बताउनु भयो । उहाँका अनुसार वर्षौ साल एउटै बाली लगाउँदा पनि त्यही रोग दोहोरिने गरेकाले बाली फेर्न आग्रह गर्दागर्दै पनि किसानले मकै नै लगाउने गरेकाले यस्तो समस्या दोहोरिरहेको छ ।
मकै लगाउने क्षेत्रमा केही वर्षका लागि धान, लगायतका स्थान अनुसार जुन बाली हुन्छ त्यही लगाउन बारम्बार आग्रह गरिरहेको उहाँको भनाइ छ । ‘रोग किराको अवषेशहरु खेतबारीमा रहिरहने भएकाले बालीनालीलाई आक्रमण गर्न सक्छन्’ उहाँले भन्नुभयो– ‘अहिले रोग लागेको मकैलाई जोगाउने कुनै पनि उपाय छैन । थोरै भए तत्काललाई विषादी छर्केर बचाउन सकिन्थ्यो तर मकै त धेरै क्षेत्रफलमा हुन्छ । ठूलो क्षेत्रफलमा रहेको मकै बारीमा विषादी छर्किने व्यक्तिलाई नै समस्या हुने गर्दछ ।’ तर पनि सकेसम्म बचाउने उद्देश्यले किसानकै बारीमा पुगेर प्राविधिक सल्लाह दिने गरेको उहाँको भनाइ छ । विउ राम्रो नहुनु, माटोमा खाद्य तत्वको कमी हुनु, पानी धेरै परेमा, पानी जम्ने ठाउँ भयो भने यस्ता रोगहरु देखिने गरेको उहाँले बताउनु भयो । गत वर्ष पनि ८५ प्रतिशत मकैमा क्षति भएको थियो ।यसै गरी धानमा पनि गबारा र बलास्ट जस्ता रोगहरु देखा परेको छ । रोग देखा परेको क्षेत्रमा किसानहरुले बोलाएसम्म फिल्डमै गएर प्रत्यक्ष रुपमा अवलोकन गरी प्राविधिक सरसल्लाह दिइरहेको कृषि प्राविधिक केशव केसीले बताउनु भयो ।