तुलसीपुर, ६ भदौ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
आज बिहान मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।