सल्यान, ९ भाद्र ।
नेकपा माओवादी केन्द्रको शारदा नगर कमिटी अध्यक्षमा मोहनलाल बुढाथोकी निर्वाचित भएका छन । श्रीनगरमा २ दिन सम्म चलेको तेस्रो नगर सम्मेलनले बुढाथोकीको अध्यक्षतामा ३३ सदस्यीय नगरकमिटी निर्वाचित गरेको छ । शनिबार शुरु भएर आइतबार विहान सम्पन्न सम्मेलनमा अन्य पदमा सहमती अनुसार नेतृत्व चयन भएपनि अध्यक्षका लागि भने निर्वाचन नै भएको हो । अध्यक्षका लागि अर्का उम्मेद्वार यज्ञ कुमार विकले दावी गरेपछि उनिहरका विचमा निर्वाचन नै गर्नुपरेको हो । अध्यक्षमा निर्वाचित बुढाथोकीले विकलाई १३ को मतान्तरले पराजित गरेका हुन । बुढाथोकीले २२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धामा रहेका विकले ९ मत प्राप्त गरेका छन । सम्मेलनबाट निर्वाचित ३३ सदस्यहरु मध्ये २ जना अनुपस्थित रहेका थिए भने अन्यले मतदान प्रक्रियामा भाग लिएका थिए । सर्वसम्मतका लागि अधिकतम प्रयास गरिएपनि त्यो सम्भव नभएकाले जनवादी निर्वाचन प्रक्रियामा जानुुपरेको पार्टीका जिल्ला संयोजक मान बहादुर मल्लले बताए । उनले भनेः “पार्टीमा स्वच्छ जनवादी अभ्यास र प्रतिस्पर्धाबाट नेतृत्व छानिएको छ, वडाबाट आएका प्रतिनिधिले ३३ सदस्यीय नगर कमिटी निर्वाचित गरे, तिनिहरुका विचमा चुनावी प्रतिस्पर्धा भयो ।”
निर्वाचन पछिको सपथ ग्रहण सहित प्रतिबद्धतामा अध्यक्षमा पराजित उम्मेद्वार यज्ञ कुमार विकले पार्टीमा राम्रो जनवादी अभ्यास भएको भन्दै आफुले आएको मतपरिणामलाई सम्मान गर्दै नगर कमिटीमा नै रहेर जनताको सेवामा लाग्ने बताएका छन । । उनले शारदाको पार्टी एकजुट भएर जाने र आफुले जुनसबै हालतमा पनि पार्टीको जिम्मेवारी पुरा गर्दै अगाडी बढ्ने बताएका हुन । नवनिर्वाचित अध्यक्ष मोहनलाल बुढाथोकीले आफुले नगरकमिटीमा रहेका सबैलाई क्षमता अनुसारको जिम्मेवारी दिने भन्दै पार्टीमा एकढिक्का भएर लाग्ने बताए । सम्मेलनले वरिष्ठ उपाध्यक्षमा लिला बहादुर रोका, उपाध्यक्षमा चेत बहादुर गिरी र प्रकाश परियार, सचिवमा टोपेन्द्र बुढा मगर सह सचिवमा गणेश बहादुर बस्नेत अनि कोषाध्यक्षमा थुमा कुमारी थापालाई निर्वाचित गरेको छ ।