काठमाडौं,२८ साउन। गत पुस १३ गतेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमले तयार पारेको संगठनात्मक कार्ययोजना पारित गरी २०७६ चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरणको काम सक्न मातहतका कमिटीमा सर्कुलर गर्यो । परिपत्र नै पठायो ।
संगठनको निर्देशन–सर्कुलर अनुसार काठमाडौं जिल्ला कमिटीले गर्नुपर्ने संगठनात्मक काम गर्न सकेको छैन । जिल्ला कमिटीको पाँच सदस्यीय कार्यालयका सदस्य महेश्वर फुयाल पार्टीको संगठनात्मक काम ठप्प रहेको बताउँछन् । माथिल्लो कमिटीको निर्देशनअनुसार हुनुपर्ने सदस्यता एकीकृत र नवीकरणको काम अघि बढ्नै सकेको छैन ।
तर, पार्टीको जिल्ला नेतृत्व मदन भण्डारी फाउन्डेसनका नाममा सक्रिय रहेको उनी बताउँछन् । समानान्तर गतिविधि गरिरहेको फुयालको भनाइ छ ।
“जिल्ला संयोजकको जिम्मेवारीमा रहेका कृष्ण राईले पार्टीको काममा ध्यान दिनुभएको छैन । पार्टीमा कार्यविभाजन गरौं, सांगठनिक गतिविधिमा ध्यान दिऊँ भन्दा कुनै वास्ता गर्नुहुन्न,” फुयालले भने, “पार्टी एकताका महत्त्वपूर्ण कामलाई अलपत्र छाडेर, पार्टी संगठनलाई कोमामा थन्क्याएर उहाँ फाउन्डेसनमा सक्रिय हुनुभएको छ । उहाँ नेकपाको जिल्ला कमिटीको नेतृत्व होइन, फाउन्डेसनको अध्यक्ष बनेर हिँड्नु भएको छ ।”
उनका अनुसार काठमाडौं जिल्लामा मदन भण्डारी फाउन्डेसन सक्रिय बनेको छ । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिको सन्दर्भ पारेर गतिविधि गरिरहेको छ ।
गत साउन ११ गते मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूहले काभ्रेमा जिल्ला भेलाको आयोजना गरेको थियो । कोरोनाको कहरबीच चार–पाँच सय मानिस भेला गरेर नयाँ जिल्ला नेतृत्व समेत चयन गरेको थियो ।
अहिले त्यही प्रकृतिको कार्यक्रम काठमाडौंमा भइरहेको छ । उपत्यका बाहिरका जिल्लामा पनि फाउन्डेसनको गतिविधि ह्वात्तै बढ्न थालेको नेकपाका नेताहरू बताउँछन् । पार्टीभित्रको अन्तरविरोध चर्किइरहेका बेला ओली समूहले फाउन्डेसनलाई विचार प्रवाह गर्ने थलो बनाएको उनीहरूको ठहर छ । बुधबार काठमाडौं जिल्ला कमिटीका संयोजक राईको अगुवाइमा जोरपाटीमा त्यस्तै भेलाको तयारी भइरहेको छ । पूर्वी क्षेत्रको गोकर्णेश्वर, कागेश्वर मनहरा र गोकर्णेश्वर तीन नगरपालिका समेटेर एकै ठाउँमा भेलाको तयारी भइरहेको फुयालले बताए ।
भेलामा परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल जाने तयारी भइरहेको फुयालको दाबी छ । ज्ञवाली काभ्रेको भेलामा पनि सम्बोधन गर्न पुगेका थिए ।
“बुधबार जोरपाटीको वागमती किनामा शङ्करापुर, कागेश्वरी मनहरा र गोकर्णेश्वर तीन नगरपालिका समेटेर समानान्तर भेला आयोजना गर्न लागेको भन्ने सुनेका छौं । अरू नगरमा उपस्थिति फितलो बनेपछि जोरपाटीका तीन नगरका कार्यकर्तालाई एउटै हलमा उपस्थित गराउन लागेको बुझेका छौं । भेलामा ओली गुटबाहेक अरूलाई खबर छैन,” उनी भन्छन् ।
फाउन्डेसनले काठमाडौं क्षेत्रका सबैजसो स्थानीय तहमा भेला, अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । साउन ७ गते बूढानीलकण्ठ नगरपालिकामा फाउन्डेसनले वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो । चन्द्रागिरि नगरपालिकामा साउन ११ गते भेला र अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको त्यहाँको नगर कमिटीले जानकारी दियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, नेकपाका जिल्ला अध्यक्ष कृष्ण राई उपस्थित थिए । त्यहाँ पनि इतरसमूहलाई खबर नै नगरिएको जिल्ला तहका नेता बताउँछन् ।
साउन १७ गते टोखाले त्यस्तै प्रकृतिको कार्यक्रम आयोजना गरेको थियो । नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रीकरण विषय विचार गोष्ठी भनिए पनि कार्यक्रममा सरकार र पार्टी नेतृत्वको प्रतिरक्षा र बचाउ गरेको सहभागीहरू बताउँछन् । कार्यक्रममा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित ओली पक्षका नेतामात्रै सहभागी थिए । अर्को पक्षलाई त्यहाँ पनि बेवास्ता गरियो ।
कीर्तिपुर नगरपालिकामा पनि फाउन्डेसनका नाममा ओली समूहले समानान्तर कार्यक्रम आयोजना गरिसकेको छ । साउन २३ गते कीर्तिपुर नगरपालिकामा पनि टोखा नगरपालिकाकै शीर्षकमा विचार–विमर्श गरिएको थियो । त्यहाँ पनि केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र काठमाडौंका जिल्ला संयोजक राई उपस्थित थिए । पूर्वमाओवादी केन्द्र समूहका अञ्जना विशङ्खेलाई निम्त्याइएको थियो ।
साउन २३ गते नै तारकेश्वर नगरपालिकामा पनि फाउन्डेसनको ब्यानरमा कार्यक्रम आयोजना भएको थियो । त्यहाँचाहिँ भिन्न प्रकृतिको, पत्रकारिता तालिम आयोजना भएको र टोखा र बुढानीलकण्ठ नगरपालिकालाई पनि समावेश गराइएको नेकपाका जिल्ला तहका नेता बताउँछन् ।
नागार्जुन नगरपालिकामा पनि त्यस्तै प्रकृतिको कार्यक्रम सकिइसकेको छ । साउन २४ गते नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक विचार गोष्ठीका शीर्षकमा विचार मन्थन गरिएको त्यहाँको नगर कमिटीले जानकारी दियो । नागार्जुनमा पनि कृष्णगोपाल श्रेष्ठ र राजन भट्टराई नै विचार प्रस्तुतिका लागि पुगेको थिए ।
“अहिले काठमाडौं जिल्ला संयोजक राई, केन्द्रीय सदस्यद्वय कृष्णगोपाल, राजभन भट्टराईलगायत नेताहरू फाउन्डेसनलाई सक्रिय बनाउन लागि पर्नुभएको छ,” फुयाल भन्छन् ।
फाउन्डेसनको काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला छन् । काठमाडौं–५ को प्रदेशसभा सदस्य रहेका उनी नेकपाको जिल्ला कमिटीको सचिवालय सदस्य पनि हुन् । केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर ओली समूहको यो समानान्तर गतिविध टिप्पणी गर्न लायक नै नरहेको बताउँछन् । पार्टीको नेतृत्वमै रहेकाहरू समानान्तर गतिविधि गरिरहेको र गुटगत क्रियाकलामा सक्रिय रहेकाले टिप्पणीका लागि अयोग्य रहेको उनको निष्कर्ष छ ।